हाम्रो पेज
भाद्र २,विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक परिदृश्यमा सधैँ चर्चामा रहने वाम एकता अब सम्भव नरहेको र आफूलाई पार्टीबाट कसैले पनि अलग गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न वामपन्थी पार्टीहरू क्रियाशील रहँदा वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै छैन भनेर भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दिनँ । अर्को प्रसंगमा, नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग हालै भएको भेटघाटलाई लिएर आएका सार्वजनिक टिप्पणीहरूलाई उहाँले हाउगुजीको संज्ञा दिनुभयो। उहाँले आफू र कोइरालाबीचको भेटलाई देशमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक समस्याहरूको समाधानबारेको छलफलका रूपमा बुझ्न आग्रह गर्नुभयो । शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ मोरङ विराटनगरको हुनुहुन्छ । हामी पनि यतै जन्मे हुर्केका हौँ । उहाँसँगको भेटलाई एकदमै ठूलो हाउगुजीका रूपमा लिनुपर्ने म ठान्दिनँ, भण्डारीले स्पष्ट पार्नुभयो । पार्टीसँगको आफ्नो सम्बन्धका बारेमा उठिरहेका प्रश्नहरूमाथि प्रष्ट पार्दै पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टीको आजीवन सदस्य रहेको र यसलाई कसैले खोस्न नसक्ने दाबी गर्नुभयो । म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ । आज पनि म त्यहीँ हुँ । पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो, उहाँले भन्नुभयो । उहाँले पार्टीको सदस्यता नवीकरण गरिसकेको र ३५,३६ वर्षदेखि पार्टीसँगको निरन्तर यात्रालाई कसैले पनि समाप्त गर्न नसक्ने बताउनुभयो । राजतन्त्र र गणतन्त्रबीचको तुलनात्मक प्रश्नमा उहाँले राजा व्यक्ति भएको तर राष्ट्रपति पद एक संस्थागत भूमिका भएको तर्क गर्नुभयो । जनताले निर्वाचित गरेका कोही पनि व्यक्ति त्यो पदमा जान सक्छन् र कार्यकालपछि पुनः सामान्य नागरिक जीवनमा फर्किन सक्छन्, उहाँको भनाइ थियो ।