search logo
NOTIFICATIONS

राष्ट्रिय गानका सर्जक ‘व्याकुल माइला’को नाममा ठगीः नक्कली रचयिता प्रहरी नियन्त्रणमा

हाम्रो पेज

३० श्रावण २०८२, शुक्रबार १३:००

विराटनगर ३० श्रावण । आफूलाई नेपालको राष्ट्रिय गानका रचयिता बताउँदै लामो समयदेखि ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय गानका वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को नाम दुरुपयोग गरी पुस्तक प्रकाशन तथा बिक्री(वितरण गर्दै हिँडेका उदयपुर, बेल्टार निवासी मिलन राईलाई इटहरीबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय, इटहरीका अनुसार राईलाई इटहरी उपमहानगरपालिका परिसरबाट पक्राउ गरिएको हो। उनी आफूले ‘व्याकुल माइला’को कृतिको रूपमा बिक्री गरेको पुस्तकको भुक्तानी लिन आएका बेला पक्राउ परेका हुन्। प्रहरीले उनीमाथि थप अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ। राईले लामो समयदेखि राष्ट्रगानका सर्जकको नाममा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूलाई झुक्याउँदै आएको गम्भीर आरोप छ। उनको ठगीको जालो कतिसम्म फैलिएको थियो भन्ने कुरा उनले राष्ट्रपति कार्यालयमा आफू नै सक्कली सर्जक भएको दाबीसहित उजुरी समेत दिएका थिए । यति मात्र नभई, करिब सात महिनाअघि उनले सभामुख देवराज घिमिरेलाई भेटेर राज्यले वास्तविक सर्जक ‘व्याकुल माइला’लाई प्रदान गर्दै आएको मासिक भत्ता आफूले पाउनुपर्ने भन्दै निवेदनसमेत दिएका थिए। एक राष्ट्रिय व्यक्तित्वको नाम र प्रतिष्ठामाथि आँच पुर्‍याउँदै गरिएको यो गम्भीर प्रकृतिको अपराधले कला, साहित्य र सिर्जनाको क्षेत्रमा समेत चिन्ता उत्पन्न गराएको छ।