search logo
NOTIFICATIONS

विराट क्याम्पसमा नयाँ सञ्चालक समिति, आरसी कोइराला अध्यक्ष, रोशन क्याम्पस प्रमुख

हाम्रो पेज

२९ श्रावण २०८२, बिहीबार १५:४२
विराटनगर, २९ साउन । विराटनगरस्थित ऐतिहासिक शैक्षिक संस्था विराट क्याम्पसको सञ्चालक तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । हालै सम्पन्न क्याम्पस सञ्चालक समितिको बैठकले आरसी कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको हो । नव–पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा आरसी कोइराला, उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा उमेश दाहाल र कोषाध्यक्षमा शिक्षा पौडेल चयन हुनु भएको छ । त्यसैगरी, समितिका सदस्यहरूमा कैलाश दाहाल, हेमराज गुरुङ्ग, अमित अग्रवाल, सरोज पौडेल र दृष्टि तिम्सिना रहनु भएको। छ। बैठकले शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार विकास, प्रविधिमैत्री कक्षा सञ्चालन, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थी हितका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ । नवनियुक्त अध्यक्ष कोइरालाले पुनर्गठित समितिले क्याम्पसलाई प्रदेशस्तरमै नमुना संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वि.सं. २०४८ सालमा स्थापना भएको विराट क्याम्पस, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक प्रतिष्ठित शैक्षिक संस्था हो । यसले स्थापनाकालदेखि नै पूर्वी नेपालको उच्च शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हाल यस क्याम्पसमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ तथा स्नातक तहमा व्यवस्थापन संकाय विविएस र एसिसिए कार्यक्रम सञ्चालनमा छन् । विसं २०७४ देखि विभिन्न शैक्षिक संस्था सञ्चालनको अनुभव भएका आरसी कोइरालाको नेतृत्वमा क्याम्पस सञ्चालन हुँदै आएको छ । यसअघि क्याम्पसको भौतिक पूर्वाधार मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
क्याम्पसले हालै कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूलाई ल्यापटप उपलब्ध गराउने र सूचना प्रविधिसँग जोडेर पठनपाठन गराउने घोषणा गरेको छ । यस कार्यक्रमअन्तर्गत वेभ डेभलपमेन्ट, ग्राफिक डिजाइन, नेटवर्किङ जस्ता जीवनोपयोगी तालिमहरू पनि प्रदान गरिनेछ, जसले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर र दक्ष बनाउने लक्ष्य राखेको छ । शैक्षिक कार्यक्रमहरूको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष कोइराला र क्याम्पस प्रमुख रोशन घिमिरेको नेतृत्वमा विशेष जिम्मेवारी तोकिएको छ । सहायक क्याम्पस प्रमुखमा अमित अग्रवाल, विविएस कोअर्डिनेटरमा कैलाश दाहाल र होटल व्यवस्थापन को अर्डिनेटरमा सरोज पौडेलले भूमिका निर्वाह गर्नुहुने छ। यो नयाँ व्यवस्थापन र शैक्षिक योजनाले क्याम्पसलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।