
विराटनगर,२७ श्रावण । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एक शंकास्पद मोबाइल एप्लिकेसनमार्फत भइरहेको वित्तीय ठगीबारे आम सर्वसाधारणलाई सचेत गराएको छ। सामाजिक सञ्जालमा सेयर बजारबाट उच्च नाफा कमाउन सकिने भ्रामक प्रचार गरी यो एप डाउनलोड गर्न लगाइ प्रयोगकर्ताहरूको बैंक खाताबाट लाखौं रुपैयाँ चोरी भइरहेको घटना सार्वजनिक भएपछि ब्यूरोले यस्तो चेतावनी जारी गरेको हो।ब्यूरोका अनुसार, साइबर अपराधीहरूले निकै योजनाबद्ध तरिकाले सर्वसाधारणलाई आफ्नो निशाना बनाइरहेका छन् । सामाजिक सञ्जालमा सेयर बजारको विश्लेषण गरेर अत्यधिक नाफा कमाउन सकिने भन्दै ‘नेप्से एआई’ एप डाउनलोड गर्न लोभ्याइन्छ।यसैगरी प्रयोगकर्ताले एप डाउनलोड गरेपछि, ह्याकरहरूले ‘रिमोट सेसन’ मार्फत पीडितको मोबाइलमा पूर्ण पहुँच नियन्त्रण प्राप्त गर्छन्। मोबाइलमा पहुँच पाउनासाथ, ह्याकरहरूले केही क्षणभित्रै पीडितको बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिदिन्छन्। पैसा चोरी गरिसकेपछि, प्रमाण मेटाउन पीडितको मोबाइलमा रहेका सम्पूर्ण डाटाहरू र एपहरू समेत डिलिट गरिदिने गरेको पाइएको छ। ब्यूरोले हालैको एक प्रतिनिधि घटना सार्वजनिक गर्दै ठगीको गम्भीरतालाई प्रस्ट पारेको छ। एक व्यक्तिले फेसबुकमा आकर्षक विज्ञापन देखेपछि उक्त एप डाउनलोड गरेका थिए। त्यसको केही क्षणमै उनको मोबाइलको स्क्रिन कालो भयो र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र पठाइएको उनले पत्ता लगाए। सीआईबीले यस्ता वित्तीय अपराधबाट बच्न सुरक्षा उपायहरू अपनाउन सबैमा आग्रह गरेको छ ।
