कैलाली कारागारभित्र हतियारसहित प्रहरी, गणना सम्पन्न,४२ घण्टा लामो विद्रोहको अन्त्य

हाम्रो पेज

२५ श्रावण २०८२, आईतवार १९:३८

कैलाली, २५ श्रावण । करिब ४२ घण्टा लामो तनाव, अनिश्चितता र विद्रोहलाई चिर्दै सुरक्षा फौजले कैलाली कारागारको कैदीबन्दी गृहलाई आफ्नो नियन्त्रणमा लिएको छ। कैदीबन्दीहरूले पूर्ण रूपमा कब्जामा लिएको उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिको रोहवरमा हतियारसहित प्रवेश गरी स्थिति सामान्य बनाएको हो। राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिमका निर्देशक प्रकाश भट्टका अनुसार, कारागारभित्र रहेका सबै कैदीबन्दी सकुशल अवस्थामा भेटिएका छन्। टोलीले गरेको गणनाअनुसार, शुक्रबार रातिसम्म कारागारमा रहेका कुल सात सय कैदीबन्दीमध्ये ३९६ जना ए ब्लकमा, १९८ जना बी ब्लकमा र ७५ जना महिला ब्लकमा रहेका छन्। घटनामा घाइते भएका ४८ जना (शुक्रबारका ४७ र बिहीबारका १०) को विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने शुक्रबारको हिंसात्मक झडपमा परी एक जना कैदीको मृत्यु भएको थियो। यसैबीच, कैलाली कारागारमा उत्पन्न भयावह स्थितिको गम्भीर समीक्षा गर्न सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आपत्कालीन बैठक बोलाउनुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई बोलाइएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।