search logo
NOTIFICATIONS

एसियन कप छनोटमा नेपालको संभावना जिवितै, अन्तिम मिनेटको गोलमा साउदीमाथि नेपालको कठिन जित

हाम्रो पेज

२३ श्रावण २०८२, शुक्रबार १६:२३

एजेन्सी,२३ श्रावण । वैकल्पिक खेलाडी सुक्रिया मियाँले खेलको अन्तिम मिनेटमा गरेको निर्णायक गोलसँगै नेपालले एएफसी यू–२० महिला एसियन कप छनोटमा साउदी अरेबियामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ। यो जितसँगै नेपालको छनोट सम्भावना गणितीय रूपमा जीवितै रहे पनि यात्रा भने निकै कठिन बनेको छ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको ९०औं मिनेटमा पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले गोल गर्दै नेपाललाई महत्त्वपूर्ण तीन अंक दिलाइन्। यस जितपछि नेपाल दुई खेलबाट चार अंक जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ। यसअघि खेलको ३७औं मिनेटमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। साउदी डिफेन्डरले सेनु परियारलाई पेनाल्टी बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा स्ट्राइकर मीना देउवाको प्रहार पोस्टमा लागेर फर्किएको थियो। गोलअन्तरले महत्त्वपूर्ण भूमिका खेल्ने छनोटमा प्रतियोगिताकै कमजोर मानिएको साउदीविरुद्ध फराकिलो जित निकाल्नुपर्ने दबाबमा नेपाल थियो। पहिलो खेलमा उत्तर कोरियाले यही साउदी टोलीलाई १५–० को विशाल अन्तरले पराजित गरेकाले नेपाललाई पनि ठूलो जित आवश्यक थियो। तर, नेपाल १–० को साँघुरो जितमा चित्त बुझाउन बाध्य भयो। लगातार दोस्रो हार बेहोरेको साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अब नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल समूहको सबैभन्दा बलियो टोली उत्तर कोरियाविरुद्ध खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपका लागि सिधै छनोट हुने प्रावधान छ। फराकिलो जित निकाल्न नसक्दा नेपालको सिधै छनोट हुने सम्भावना लगभग समाप्त भएको छ, यद्यपि उत्कृष्ट उपविजेता बन्ने झिनो आशा भने कायमै छ।