search logo
NOTIFICATIONS

विराटनगरमा ठूलो मात्रामा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

हाम्रो पेज

२३ श्रावण २०८२, शुक्रबार १६:१५

विराटनगर २३ श्रावण । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विराटनगरको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्युरोको विराटनगरस्थित टोलीले बिहीबार विराटनगर महानगरपालिका १५, रानीस्थित जानकी मन्दिर अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना अन्तर्गत रामपुर पञ्चायत २ का ३५ वर्षीय मो। सिकंदर बाखत र सोही पञ्चायत १० का ३५ वर्षीय सरफराज रहेका छन्। प्रहरीका अनुसार, शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा बखतको साथबाट सेतो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध बरामद भएको थियो। बरामद गरिएको ब्राउनसुगरको तौल प्लास्टिकसहित १५० ग्राम र प्लास्टिकबाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जनाले मिलेमतोमा भारतबाट अवैध रूपमा लागुऔषध नेपाल भित्र्याई बिक्री वितरण गर्ने गरेको स्वीकारेका छन्। प्रहरीले उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान अगाडि बढाएको छ।