हाम्रो पेज
विराटनगर, २२ श्रावण । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागको जनजीवन प्रभावित बनाएको छ। यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेको छ, जहाँ आज सातवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने नौवटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार निम्न राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
कोशी राजमार्गः सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा अवरुद्ध।
पासाङल्हामु राजमार्गः रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा बाढीले अवरुद्ध बनेको छ।
अरनिको राजमार्गः सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका क्षेत्रमा पहिरोका कारण बन्द छ।
पूर्वपश्चिम राजमार्गः नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिक पहिरो खसेर अवरुद्ध भएको छ।
मध्यपहाडी लोकमार्गः लमजुङको मध्यनेपाल नगरपालिका–९ मा पहिरोका कारण यातायात रोकिएको छ।
नेपाल चीन नाका जोड्ने पुलः रसुवाको गोसाइँकुण्डमा रहेको यो पुल पनि बाढीले प्रभावित भएको छ।
यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले निम्न सडकहरुमा एकतर्फी रुपमा सवारी सञ्चालन भइरहेको जानकारी दिएको छ ।
काठमाडौँ नुवाकोट सडकखण्ड
मध्यपहाडी राजमार्गः तेह्रथुमको लालीगुराँस नगरपालिका–७ र बागलुङको काठेखोला–६ मा।
गल्छी त्रिशूली मैलुङ स्याफ्रु सडकः रसुवाको उत्तरगयामा।
कालीगण्डकी करिडोरः बागलुङ नगरपालिका–१० र नवलपरासी पूर्वको गैँडाकोट–३ मा।
बेनी जोमसोम सडकः मुस्ताङको थासाङ गाउँपालिका–४ मा।
पृथ्वी राजमार्गः तनहुँको बन्दिपुर–४ चुनपहरामा।
पोखरा बागलुङ सडकः कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा।
रिडी तम्घास सडकः गुल्मीको रुरु–३ मा।
राप्ती राजमार्गः दाङको लमही नगरपालिका–९ मा।
सहिद राजमार्गः रोल्पाको परिवर्तन गाउँपालिकामा।
अवरुद्ध सडकहरु खुलाउने प्रयास जारी रहेको र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। वर्षा र बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
