हाम्रो पेज

काठमाडौँ १८ श्रावण । व्यक्तिगत घटना दर्ताका प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरणमा भएको गल्ती अब एक पटकका लागि सच्याउन पाइने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ लाई संशोधन गर्दै यो महत्त्वपूर्ण व्यवस्था गरेको हो।यो व्यवस्थाले वर्षौंदेखि विवरण नमिलेर नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी सेवा लिन सास्ती भोगिरहेका हजारौं नागरिकलाई ठूलो राहत दिएको छ। संशोधित ऐनअनुसार, जुनसुकै व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ दर्ताको प्रमाणपत्रमा रहेको त्रुटिपूर्ण विवरण सच्याउन सम्बन्धित व्यक्तिले एक पटकका लागि निवेदन दिन सक्नेछन्। यसका लागि कुनै उमेर वा समयको हदबन्दी तोकिएको छैन, जसले गर्दा वयस्क व्यक्तिहरूले समेत यो सुविधा पाउनेछन्।यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा केवल २०७६ सालपछि जन्मेका बच्चाको जन्मदर्ताको विवरण, त्यो पनि दर्ता भएको एक वर्षभित्र मात्र सच्याउन मिल्ने अत्यन्तै सीमित र अव्यावहारिक व्यवस्था थियो। यसले गर्दा वयस्क व्यक्तिहरू र तोकिएको समयसीमा नाघेका बालबालिकाको विवरण सच्याउने कुनै कानुनी बाटो थिएन। सानो गल्तीका कारण उनीहरूले नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी कागजात बनाउँदा ठूलो झन्झट बेहोर्नु परेको थियो। यही अप्ठ्यारो फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो।

कसरी सच्याउने यस्तो छ प्रक्रिया?
सम्बन्धित व्यक्तिले आफ्नो स्थानीय पञ्जिकाधिकारीको कार्यालय वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। विवरण सच्याएपछि स्थानीय पञ्जीकाधिकारीले त्यसको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई गराउनुपर्नेछ। विभागले सोही आधारमा सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्रको विवरणमा समेत स्वचालित रूपमा सुधार गर्नेछ, जसले गर्दा सबै सरकारी तथ्याङ्क एकरूप हुनेछ। ऐन संशोधन भइसकेकाले अब गृह मन्त्रालयले निवेदनको ढाँचासहितको विस्तृत नियमावली तयार पार्नेछ। नियमावली राजपत्रमा प्रकाशित भएपछि नागरिकले आधिकारिक रूपमा निवेदन दिन सक्नेछन्।