search logo
NOTIFICATIONS

देशभर मनसुन सक्रियः प्रमुख नदीहरू खतराको तहमा, बाढी पहिरोको उच्च जोखिम

हाम्रो पेज

१८ श्रावण २०८२, आईतवार ११:०८

कालीगण्डकीमा वर्षकै उच्च बहाव, विश्वकै ठूलो शालिग्राम डुबानमा, सुक्खाग्रस्त मधेशमा राहतसँगै त्रास 
काठमाडौँ १८ श्रावण्न । देशभर मनसुन सक्रिय भएसँगै लगातारको वर्षाका कारण प्रमुख नदीहरूको जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाउँदै बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेकाले देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ । विभागका अनुसार निम्न नदीहरूको जलसतहले सतर्कता तह पार गरिसकेको वा पार गर्ने क्रममा रहेकाले तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्नेहरूलाई तत्काल सुरक्षित स्थानमा जान सूचित गरिएको छः
कालीगण्डकी नदीः पर्वतस्थित मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ ।
त्रियुगा नदीः उदयपुरको गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको छ र यो बढ्दो क्रममा छ ।
हनुमन्ते खोलाः भक्तपुरको कौशलटारमा जलसतह सतर्कता तह आसपास पुगेको छ ।
ठूली भेरी नदीः डोल्पा र रुकुमपश्चिममा जलसतह सतर्कता तहमा पुगेर बढ्दो क्रममा छ ।
म्याग्दी खोलाः म्याग्दीको मङ्गलाघाटमा जलसतह बढ्दो क्रममा छ ।
अन्यः जाजरकोटको नलगाढ र सोलुखुम्बुको सोलु खोलामा पनि बहाव उच्च रहेको छ ।
 

कालीगण्डकीमा वर्षकै उच्च बहाव, विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा भएको भीषण वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ । आज बिहान नदीको सतह ६ मिटरभन्दा माथि पुगेपछि पर्वतका बगरफाँट, वारीबेनी, मालढुङ्गा र जैमिनीघाट जस्ता तटीय क्षेत्रहरू उच्च जोखिममा परेका छन् । बाढीले विश्वकै ठूलो शालिग्राम शिला र त्यसको संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन समेत बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिए पनि पर्वत, स्याङ्जा र गुल्मीको सीमावर्ती सेतीवेणी बजार डुबानको उच्च जोखिममा छ । यता लामो समयदेखि सुक्खाग्रस्त रहेको र सरकारले सङ्कटग्रस्त घोषणा गरेको मधेश प्रदेशमा लगातारको भारी वर्षाले किसानलाई राहत दिएको छ । तर, यही वर्षाले जोखिम पनि बढाएको छ । पछिल्लो २४ घण्टामा उदयपुरको गाईघाटमा सबैभन्दा धेरै १३२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै, सिराहको सिराह हाइड्रो केन्द्रमा १०१।६ मिमि धेरै भारी वर्षा, झापाको अनरमणिमा १२५ मिमि र दमकमा ११२ दशमलव ८ मिमि वर्षा रेकर्ड भएको छ । मधेशका अन्य जिल्ला सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीमा पनि भारी वर्षा भएको छ । महाशाखाले आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले मनसुन अझै सक्रिय रहने हुँदा नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा र बसोबास गर्दा विशेष सावधानी अपनाउन आम नागरिकमा अनुरोध गरेको छ ।