एकीकृत समाजवादीमा मतभेदः अध्यक्ष नेपालद्वारा सम्मानित नेता खनालको राजीनामा माग

हाम्रो पेज

१६ श्रावण २०८२, शुक्रबार १४:२२

विराटनगर,१६ श्रावण । नेकपा एकीकृत समाजवादी पार्टीभित्रको आन्तरिक मतभेद सतहमा आएको छ, जहाँ पार्टीका दुई शीर्ष नेताहरू, अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, सार्वजनिक रूपमै एकअर्काविरुद्ध खनिएका छन्। सम्मानित नेता खनालले नेकपा एमाले विभाजनको निर्णयलाई ‘गल्ती’ भनी टिप्पणी गरेपछि अध्यक्ष नेपालले कडा प्रतिक्रिया दिँदै पार्टी अनुशासनको विषय उठाउनुभएको हो। विवादको सुरुवात सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक टेलिभिजन अन्तरवार्ताका क्रममा दिनुभएको अभिव्यक्तिबाट भएको हो। उहाँले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु गलत कदम भएको भन्दै पश्चाताप व्यक्त गर्नुभएको छ। म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म,ू नेता खनालले भन्नुभयो, नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो। यतिमा मात्र सीमित नरही, नेता खनालले अध्यक्ष नेपालको कार्यशैलीप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले अध्यक्ष नेपालले पार्टीलाई एकलौटी ढंगले चलाएको र आफूलाई महत्त्वपूर्ण निर्णय प्रक्रियाबाट अलग राखेको आरोप लगाउनुभयो। दलका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ। यो पार्टी व्यक्तिको बपौती होइन, उहाँले भन्नुभयो। पछिल्लो समाजवादी मोर्चाको बैठकबारे आफूलाई जानकारी समेत नदिइएकोमा उहाँको गुनासो थियो।

नेता खनालको उक्त अभिव्यक्तिको अध्यक्ष नेपालले आज विराटनगर विमानस्थलमा कडा प्रतिक्रिया दिनुभएको छ। सुरुमा उहाँले खनालको भनाइप्रति अविश्वास व्यक्त गर्दै भन्नुभयो, “उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन। अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ।” तर, यदि त्यस्तो अभिव्यक्ति दिएको सत्य हो भने नेता खनालले पार्टीबाट बिदा लिनुपर्ने अध्यक्ष नेपालको भनाइ छ। उहाँले नेता खनाललाई पार्टीको निर्णय बारम्बार उल्लङ्घन गर्नेमा नम्बर वान को संज्ञा दिँदै पार्टीमा बस्ने नैतिक अधिकारमाथि प्रश्न उठाउनुभयो। “यो हाम्रो पार्टीको संस्थागत निर्णय हो। यसमा कसैले विरोध गर्नुको अर्थ छैन,” माओवादीसँगको मोर्चाबारे खनालको असन्तुष्टितर्फ संकेत गर्दै उहाँले भन्नुभयो।
यसैबीच, अध्यक्ष नेपालले आफूमाथि लागेको भ्रष्टाचारको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिनुभएको छ। उहाँले भन्नुभयो, यो राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर मुद्दा चलाइएको हो। मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। उहाँले पतञ्जलीलाई जग्गा दिने निर्णय प्रक्रियागत रूपमा सही र कानुनसम्मत भएको दाबी गर्नुभयो। साथै, उहाँले वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको आलोचना गर्दै भन्नुभयो, ूएउटा व्यक्ति केपी ओलीको अहंकारको दम्भका कारण देश पीडित छ।