हाम्रो पेज

एजेन्सी, १४ श्रावण । बुधबार रुसको सुदूर पूर्वी कमचटका प्रायद्वीप नजिकै ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क कामचत्स्कीबाट करिब १२६ किलोमिटर टाढा १८ किलोमिटर गहिराइमा थियो । सन् १९५२ पछिकै सबैभन्दा शक्तिशाली मानिएको यस भूकम्पले प्रशान्त महासागरमा सुनामीको लहर उत्पन्न गरेपछि जापानदेखि अमेरिकासम्म उच्च सतर्कता अपनाइएको छ । भूकम्पपछि रुसको सेभेरो कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको बाढी पसेको छ । क्षेत्रीय आपत्कालीन मन्त्री सर्गेई लेबेदेवका अनुसार करिब ३ दशमलव ४ मिटर अग्लो सुनामीको लहरले करिब २,००० जनसंख्या भएको उक्त सहरको केही भाग डुबाएको छ । भागाभाग गर्ने क्रममा केही मानिसहरू घाइते भएका छन्, जसमा झ्यालबाट हाम फालेकी एक महिला पनि छिन् । यद्यपि, स्वास्थ्य मन्त्री ओलेग मेल्निकोभले घाइतेहरूको अवस्था सामान्य रहेको र कुनै गम्भीर चोटपटक नदेखिएको बताएका छन् । रूसी विज्ञान एकेडेमीले आगामी दिनमा ‘शक्तिशाली परकम्प’ आउनसक्ने चेतावनी दिएको छ । एकेडेमीको भूभौतिक सेवा विभागले भनेको छ, “अबको कम्तीमा एक महिनासम्म ७.५ म्याग्निच्युडसम्मका शक्तिशाली परकम्पहरू महसुस हुन सक्नेछन् ।” भूकम्पको धक्कासँगै जापानको होक्काइदो प्रान्तको उत्तरी भागमा करिब १२ इन्च अग्लो सुनामीको छाल आइपुगेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ । छालले नेमुरो बन्दरगाह सहरमा प्रभाव पारेको छ । जापानी अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च स्थानमा जान आदेश जारी गरेका छन् । जापानी प्रधानमन्त्री सिगेरु इसिबाले सरकारले स्थितिको मूल्यांकन गरिरहेको र उद्धारमा “मानवीय जीवनलाई पहिलो प्राथमिकता दिइने” बताउनुभएको छ । सन् २०११ को विनाशकारी सुनामीको अनुभवबाट पाठ सिक्दै फुकुशिमा डाइची र डाइनी आणविक ऊर्जा केन्द्रका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सुनामीको खतरा प्रशान्त महासागर पार गर्दै अमेरिकी तटसम्म पुगेको छ । हवाईको माउ टापुमा साइरन र फोन अलर्टमार्फत स्थानीयलाई सतर्क गराइएको छ । ओआहु टापुको ठूलो भाग, जसमा राज्यको राजधानी होनोलुलु पनि पर्छ, खाली गर्न आदेश दिइएको छ । माउका एक बासिन्दा रोजर प्लिजेन्टनले भने, “आपतकालीन प्रणालीले काम गरिरहेकोमा हामीलाई राहत मिलेको छ । अघिल्लो आगलागीको बेला यो प्रणाली चुकेको थियो ।” अमेरिकी सुनामी चेतावनी केन्द्रले दक्षिण अमेरिकी देश इक्वेडरको तटमा ३ मिटर १० फिट सम्म अग्लो सुनामीको छाल आउन सक्ने चेतावनी दिएको छ । यस भूकम्पले प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका अधिकांश देशहरूलाई सतर्क अवस्थामा राखेको छ । 