पूर्वाञ्चल विश्वविद्यालयमा ४३ करोडमा प्रसूति तथा बालरोग अस्पताल बन्ने, मुख्यमन्त्रीबाट शिलान्यास

हाम्रो पेज

९ श्रावण २०८२, शुक्रबार १३:०१
अब विदेशका विद्यार्थीलाई नेपाल तानौंः मुख्यमन्त्री कार्की


विराटनगर, ९ श्रावण । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा निर्माण हुन लागेको ‘प्रसूति तथा बालरोग अस्पताल’को शुक्रबार शिलान्यास गर्नुभएको छ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उच्च शिक्षाकालागि नेपाली विद्यार्थी विदेशिने क्रम रोक्न र विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। हाम्रा शैक्षिक संरचनाहरूलाई सुधार र स्तरोन्नति गर्ने हो भने हामी अन्य देशको तुलनामा कम लागतमा गुणस्तरीय शिक्षा दिन सक्छौं, उहाँले भन्नुभयो, यसले विदेशी विद्यार्थीलाई यहाँ पढ्न आकर्षित गर्छ, जसबाट आर्थिक समृद्धि र शैक्षिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु थपलियाका अनुसार, यो अस्पताल पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै स्रोतबाट निर्माण गर्न लागिएको हो। पहिलो चरणको निर्माण कार्यका लागि १२ करोड ४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भइसकेको छ र यसलाई २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो अस्पताल पूर्ण रूपमा निर्माण सम्पन्न हुँदा कुल ४३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ, उपकुलपति थपलियाले जानकारी दिनुभयो। सुन्दरहरैँचास्थित विश्वविद्यालय परिसरमा निर्माण हुन लागेको यो अस्पतालले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।