search logo
NOTIFICATIONS

सदस्यता नविकरण रोकिएपछि विद्या भण्डारीको राजनीतिक प्रतिवादः देश दौडाहाको तयारी, आज रणनीति सार्वजनिक गर्दै

हाम्रो पेज

९ श्रावण २०८२, शुक्रबार १२:१३

काठमाडौं, ९ श्रावण । नेकपा एमाले नेतृत्वले पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ रणनीतिका साथ राजनीतिक प्रतिवादमा उत्रिने तयारी गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उक्त कदमपछि भण्डारीले आफ्नो भावी रणनीति सार्वजनिक गर्न शुक्रबार दिउँसो काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । यो पत्रकार सम्मेलनलाई भण्डारीले पार्टी राजनीतिमा आफ्नो सक्रियता र हस्तक्षेप जारी रहने सन्देश दिने मञ्चको रूपमा प्रयोग गर्न लागेको उनी निकट स्रोतले जनाएको छ।

भण्डारी पक्षीय नेताहरूका अनुसार, पत्रकार सम्मेलनपछि उहाँले देशव्यापी दौडाहा सुरु गर्ने। उहाँको मुख्य ध्यान एमालेको विधान महाधिवेशनबाट चुनिएका प्रतिनिधिहरू र देशभरका कार्यकर्तासँग प्रत्यक्ष भेटघाट र छलफलमा केन्द्रित हुनेछ। नवीकरण भइसकेको सदस्यतालाई नियोजित रूपमा रोक्ने निर्णयको राजनीतिक रूपमै जवाफ दिनुपर्छ भन्नेमा भण्डारी दृढ देखिनु भएको छ । एमालेमा मेरो योगदान छ। नेताकार्यकर्ताले न्याय गर्नुहुनेछ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ, भण्डारीलाई भेटेर फर्किएका एक एमाले नेताले भने, अब उहाँ राष्ट्रिय महाधिवेशनसम्म पर्ख र हेर को नीतिमा रहेर देशभरिका कार्यकर्तामाझ पुग्नुहुनेछ। भण्डारीको बुझाइमा, उहाँलाई सदस्यताविहीन बनाउने कदमले पार्टीभित्र औपचारिक रूपमै अन्तरपार्टी संघर्ष निम्त्याएको छ। यसको समाधान पनि राजनीतिक तवरले नै खोजिनुपर्छ भन्ने उहाँको निष्कर्ष छ। यो कदमको राजनीतिक जवाफ दिनुपर्छ भन्ने उहाँको स्पष्ट अडान छ, ती नेताले थपे, त्यसैले अब उहाँ जिल्ला दौडाहामा निस्कनुहुन्छ। सबै जिल्लामा पुगेर कार्यकर्ताको भावना बुझ्ने चाहना उहाँमा देखिन्छ। यो घटनाले एमालेको आगामी महाधिवेशनअघि अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको शक्ति संघर्ष सतहमा आएको स्पष्ट संकेत गरेको छ, जसले पार्टीको आन्तरिक राजनीतिलाई थप तरंगित बनाउने निश्चित छ।