search logo
NOTIFICATIONS

पार्टीभन्दा लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौं, उहाँले सहमति तोड्नुभयोःमहासचिव पोखरेल

हाम्रो पेज

७ श्रावण २०८२, बुधबार १९:३२

काठमाडौँ ७ श्रावण । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्ने पार्टीको निर्णय दललाई भन्दा लोकतन्त्रलाई बलियो बनाउने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट पार्नुभएको छ। उहाँले भण्डारीजस्तो व्यक्तित्व एमालेमा आउँदा पार्टीलाई फाइदा हुने भए तापनि राष्ट्रपतीय संस्थाको गरिमा र लोकतान्त्रिक मूल्य(मान्यताको रक्षा गर्नु पार्टीको पहिलो कर्तव्य भएको बताउनुभयो। पार्टीको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीका निर्णयहरू सार्वजनिक गर्दै महासचिव पोखरेलले भन्नुभयो, “विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ। उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो। तर, यस्तो प्रवृत्तिले राष्ट्रपतीय संस्थाको गरिमा र लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ।” उहाँले पूर्वराष्ट्रपति जस्तो सम्मानित पदमा पुगेको व्यक्ति पुनः दल विशेषको कार्यकर्ता बन्दा प्रणालीमाथि नै प्रश्न उठ्ने भएकाले पार्टीले यो सैद्धान्तिक र दूरगामी निर्णय लिएको बताउनुभयो। महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे एउटा भित्री सहमति भएको तर त्यो उहाँकै तर्फबाट तोडिएको समेत खुलासा गर्नुभयो। “सदस्यता नवीकरण भएपछि यसलाई सार्वजनिक नगरौं, यो विशेष विषय हो, उपयुक्त समयमा पार्टीले नै निर्णय गर्छ भन्ने सहमति थियो,” महासचिव पोखरेलले भन्नुभयो, “तर, उहाँले नै सक्रिय राजनीतिमा फर्किएको एकपक्षीय घोषणा गरेपछि पार्टी केन्द्रीय कमिटीबाटै स्पष्ट निर्णय लिन बाध्य भएको हो।”
उहाँका अनुसार, यदि भण्डारीले हतारमा सक्रिय राजनीतिमा फर्किने घोषणा नगरेको भए पार्टीले यो विषयमा तत्काल कुनै निर्णय गर्ने थिएन र समयक्रममा उपयुक्त समाधान खोजिने थियो। राजनीतिमा फर्कन नमिल्ने निर्णयसँगै उहाँको सदस्यताको विषय स्वतः निष्क्रिय भएको पोखरेलको तर्क थियो। एमालेले सदस्यता नवीकरण नगर्दैमा भण्डारी घरमै निष्क्रिय बस्नुपर्छ भन्ने पार्टीको अपेक्षा नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो। उहाँ देशको अभिभावक हुनुहुन्छ। समसामयिक राजनीतिक विषयमा उहाँले राख्ने चासो र चिन्तालाई पार्टीले स्वाभाविक रूपमा लिन्छ, पोखरेलले भन्नुभयो।  पत्रकारहरूको जिज्ञासामा महासचिव पोखरेलले आगामी मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने केन्द्रीय कमिटीको लगभग एकमत रहेको बताउनुभयो। “केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको धारणा ुमिसन ०८४ु को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ भन्ने रह्यो,” उहाँले भन्नुभयो, “यद्यपि, हामीले प्रतिस्पर्धाको राजनीतिलाई निषेध गरेका छैनौं। योग्यता पुगेका कुनै पनि महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार बन्न पाउनुहुन्छ।”