
सुनसरी ७ श्रावण । सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक दुःखद र मर्माहत बनाउने घटना घटेको छ। यहाँ घरायसी जग्गासम्बन्धी विवादले उग्र रूप लिँदा एक छोराले आफ्नै जन्मदिने बाबुको छुरा प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, सुनसरीले घटनाको पुष्टि गरेको छ। प्रहरीका अनुसार, देवानगञ्ज२ निवासी मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बुवा सचिव अन्सारीमाथि धारिलो हतियार छुरा प्रहार गरेका हुन्। बुधबार बिहान भएको उक्त आक्रमणमा सचिवको छाती र ढाडमा गम्भीर चोट लागेको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उहाँको दुःखद निधन भएको प्रहरीले जनाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, बाबुको हत्यामा संलग्न छोरा मोहम्मद रियाजलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ। प्रारम्भिक अनुसन्धानले घरायसी विवाद नै घटनाको मुख्य कारण देखाए पनि प्रहरीले अन्य सम्भावित कोणबाट समेत सुक्ष्म अनुसन्धान गरिरहेको छ, एसपी तिम्सिनाले बताउनुभयो। स्थानीय बासिन्दाहरूका अनुसार, मृतक सचिव अन्सारी गाउँमा शान्त र भद्र स्वभावका व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो । तर, परिवारभित्र सम्पत्ति बाँडफाँटको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको र सोही विवादले अन्ततः यस्तो हिंसात्मक र दुःखद मोड लिएको हुनसक्ने उनीहरूको अनुमान छ। यो घटनाले पूरै गाउँलाई स्तब्ध बनाएको छ।