search logo
NOTIFICATIONS

आँसु–आँसु हुन्न जीवन, खुसी–खुसी हुन्न जीवन…

हाम्रो पेज

७ श्रावण २०८२, बुधबार १३:०१
ब्लड क्यान्सर जित्ने कमल पौडेलको कथा…

ब्लड क्यान्सरको उपचार गराउने क्रममा कमल पौडेल

सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो, उस्तै हुन्छ देखेजस्तो हुन्न जीवन
पिरहरू बटुलेर रोइरहूँ जस्तो लाग्छ
खुसीहरू समेटेर हाँसिरहूँ जस्तो लाग्छ
आँसु–आँसु हुन्न जीवन, खुसी–खुसी हुन्न जीवन…।

गीतकार दिनेश अधिकारीको रचनामा तारादेवीले गाएको गीत जस्तै जीवन सोचे जस्तो कहाँ हुँदो रहे छ र ? २०७६ को माघ महिनामा मेरो जीवनमा नसोचेको कुरा आइलाग्यो। करियर एउटा उचाइमा पुगेका बेला अचानक घातक रोग क्यान्सरले आक्रमण गर्‍यो। क्यान्सर पनि लर्तरो थिएन, ब्लड क्यान्सर। त्यसमा पनि सबैभन्दा घातक एएमएल (एक्युट माइलोइड ल्युकेमिया)।

नसोचेको कुरा एक्कासि आइलागेपछि एकै पटक भयंकर शारीरिक, मानसिक एवं आर्थिक पीडाले विक्षिप्त बनाउँदो रहेछ। हरक्षण मृत्युको भयले तर्साउँदो रहेछ। हरपल मृत्यु नजिकिएको महसुस हुँदो रहेछ। मेरा दिन सकिएछन् भन्ने लाग्दो रहेछ। मेरो अभावमा मसँग आश्रित परिवारको अवस्था कस्तो होला भन्ने चिन्ताले झनै बढी सताउँदो रहेछ। बाहिर मलाई लिन यमदूतहरू कुरी बसेका छन् भन्ने भान पर्दो रहेछ। जीवनकै सबैभन्दा त्रासदीपूर्ण अवस्थाबाट चौतर्फी घेरिएको थिएँ म।

पारिवारिक सल्लाहअनुसार काठमाडौँको मिनभवनस्थित निजामती अस्पतालमा मेरो उपचार गर्ने निधो भयो। त्यहाँ उपचार गर्नुको मुख्य कारण त्यहाँ वरिष्ठ रक्त क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विशेष पौडेल कार्यरत हुनुहुन्थ्यो। बोनम्यारो प्रत्यारोपणमा समेत उहाँ प्रख्यात हुनुहुन्थ्यो। फेरि नेपालमा निजामती अस्पताल बाहेक अन्यत्र बोनम्यारो प्रत्यारोपणको सुविधा छैन।

अर्को महत्त्वपूर्ण कारण अस्पताल अर्ध सरकारी थियो। भारतमा वा नेपालकै अरू निजी अस्पतालमा मेरो उपचार गर्न आर्थिक हैसियत पुग्दैन थियो। भारतमा त एक करोडभन्दा कममा उपचार सम्भव थिएन। नेपालकै पनि निजी अस्पतालहरूमा पनि ७०/८० लाख रुपैयाँ तयार पारेर बस्नु पर्ने अग्रिम जानकारी पाइसकिएको थियो। ब्लड क्यान्सरमा सबैभन्दा महँगो उपचार एएमएलको हुने गर्छ।

ह्वील चेयरको यात्रा

निजामती अस्पतालमा मेरो अनिश्चित गन्तव्यको यात्रा तय भयो। मर्ने बाँच्ने टुंगो छैन। प्रा.डा. विशेष पौडेलकै सल्लाह बमोजिम २०७६ साल फागुन १ गते भर्नाका लागि अस्पताल पुगियो। एउटै बेड पनि खाली थिएन। बेड नभए पनि मेरो नाजुक अवस्था देखेपछि अस्पतालले अन्त पठाउन सकेन। दिनभरि डे केयरमा बस्नु पर्‍यो। म बेहोस भएर त्यहीँ ढलेछु। कति समयपछि होस आयो, थाहा छैन। तर होस आउँदा वरिपरि आफन्तहरू मात्रै थिए। टाउको फुट्ला झैँ दुखेको थियो। पसिनाले शरीर पुरै निथ्रुक्क छ। अन्ततः कसै गरी मिलाएर अस्पतालले एउटा डबल क्याबिनवाला बेड मिलायो। अब मसँग हिँड्ने तागत सकिएको थियो। त्यहीँबाट ह्वील चेयरको यात्रा सुरु भयो।

संसार नै अन्धकार

बेहोस हुने बौरिने क्रम धेरै दिन चल्यो। क्यान्सर शब्दले नै मान्छेको सातो जान्छ। मेरो पनि गयो। होस हरायो। अन्धकार छायो। म जीवन–मरणको दोसाँधमा थिएँ। डाक्टरहरूले ब्लड क्यान्सर भएको सुनाएपछि राम्रोसँग आँखा देखिरहेको थिइनँ। एक महिना भित्रै जे पनि हुन सक्छ- चिकित्सकहरूले भनेको यो शब्दले निराशाको कालो बादल मडारियो। आँखा खुलै थिए तर संसार अँध्यारो थियो। त्यो रात ज्वरो यति आएको थियो कि भोलिपल्टसम्म बाँच्छु भन्ने लाग्दै लागेन। त्यसपछि घोच्ने, छेड्ने क्रम निरन्तर चलिरह्यो। सात दिन सात रातको किमोले झन्डै मृत्यु लोक पुर्‍याएन।

सात दिन जसोतसो धानियो। त्यसपछि लगातारको हाई डोजको किमोको असरले पटक-पटक मृत्युको मुखमा पुर्‍यायो। उपचारपछि पनि यो क्यान्सर ९० प्रतिशत दोहोरिने गरेको सुनाएर चिकित्सकहरूले मृत्युको छाया देखाइसकेका थिए। उपचार सकिएको ९ महिनामै मेरो रोग दोहोरिएको थियो। रोग दोहोरिएमा यसको अन्तिम विकल्प भनेको बोनम्यारो प्रत्यारोपण नै हो। त्यसपछिका १८ महिना आँधीहुरीसँग जुध्नु पर्‍यो।

सम्झनामा साउन महिना

जब साउन महिना आउँछ, म विगत सम्झेर झस्किन्छु। मेरो पुनर्जन्म भएको महिना हो साउन। म चाहेर पनि यो महिना भुल्न सक्दिनँ। यो साउन महिनामा मेरो पुनर्जन्म भएको ४ पूरा पुगेर ५ वर्ष लागेछ। अनि रोग पत्ता लागेको हिसाबले साढे ५ वर्ष। रोग पत्ता लागेको झन्डै डेढ वर्षपछि मात्र मेरो बोनम्यारो प्रत्यारोपण भयो।

२०७८ साल साउन महिनामा मेरो बोनम्यारो प्रत्यारोपण भएको थियो। विश्वमै बोनम्यारो प्रत्यारोपणको सफलता दर राम्रो छैन। तर पनि म बाँचेँ। यसका पछाडि धेरै प्रियजनको हात छ। म यतिखेर मेरो जीवन रक्षाका लागि तन, मन र धन दिएर प्रार्थना गर्ने मुलुकभित्र र मुलुक बाहिर रहनु भएका तमाम प्रियजनहरूलाई सम्झिरहेको छु। उपचारमा अहोरात्र खट्ने निजामती अस्पतालका रक्त क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विशेष पौडेललाई पनि सम्झिरहेको छु। उहाँले मलाई सफल बोनम्यारो प्रत्यारोपण गरेर पुनर्जन्म नदिएको भए मेरो यमलोकको यात्रा त्यही बेला तय हुन्थ्यो।

कोभिडको कहरले लपेटेको बेला खान नपाएर हस्पिटलको क्यान्टिनबाट रोटी मगाएर पानीसँग निलेको अनि चट्टानको छाती बनाउँदै दालसँग चिउरा चपाएर भित्रभित्रै तड्पिँदै जीवन सँगिनीले आधा वर्ष हस्पिटलमा बिताएको त्यो क्षण चाहेर पनि बिर्सन सकिरहेको छैन।

किमोको हाउगुजी

क्यान्सरका बिरामीलाई लगाउने किमोको बारे धेरैमा भ्रम रहेको पाइन्छ। त्यही भ्रमका कारण कतिपय बिरामीलाई पहिलो चोटि किमो चलाउने बेलामा एन्जाइटी हुन्छ। किमो चलाउन क्यानुला लगाएर ठिक्क पारेपछि एक्कासि मुटुको धड्कन बढ्न थाल्छ। चिटचिट पसिना आउँछ। सास फेर्न गाह्रो भएको महसुस हुन्छ। पेट पोलिरहेको भान हुन्छ। आत्मविश्वास डगमगाउन थाल्छ।

यो बेला उचित परामर्शका लागि क्यान्सर विजेताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। म विराट क्यान्सर इन्स्टिच्युटमा त्यस्ता बिरामीलाई परामर्श गर्छु। आफू पनि त्यही अवस्थाबाट गुज्रेको सुनाउँछु। मेरो अवस्था देखेर उहाँहरू सितिमिति पत्याउनु हुन्न अनि मेरो उपचारका बेलाको तस्बिर र भिडियोहरू देखाउँछु। बल्ल उहाँहरू मेरो कुरा पत्याउनु हुन्छ।

तर समयको बेगले अब बिस्तारै ती क्रमशः दृश्यहरू स्मृतिको गर्भमा पुर्‍याउँदै छ। तर पनि सानोतिनो भाइरलले समात्यो भने कतै रोग त दोहोरिएको हैन भन्ने डर लाग्छ। यो डर चाहिँ हरेक क्यान्सर पीडितहरू सबैको मनमा हुन्छ। गरिब होस् वा धनी कसैको घरमा एक जना मान्छेलाई क्यान्सर भयो भने त्यो परिवारै आर्थिक, मानसिक र सामाजिक हिसाबले तहसनहस हुन्छ। क्यान्सर लागेर मृत्यु भएका खबरहरू मात्र सुनिने गरेको हाम्रो समाजमा बाँचेका उदाहरणहरू कमै थिए। यो सबैको मूल जड भनेको हाम्रो समाजमा क्यान्सरबारे फैलाइएको भ्रम रहेछ। समाजले पनि बिस्तारै बुझ्दै छ, क्यान्सर निकै नहुने रोग होइन रहेछ।

श्रीमती, छोरी र कलाकार सन्तोष पन्तका साथमा पौडेल

आत्मबलले आयु बढाउँछ

क्यान्सर बिरामीको दीर्घायुका लागि अति नै महत्त्वपूर्ण कुरा भनेको उसको आत्मबल नै हो। आत्मबल बढाउने कुरा सबै क्यान्सर बिरामीहरूका लागि त्यति सजिलो हुँदैन। यस अवस्थामा उसका नातेदार तथा पारिवारिक सदस्यहरू तथा क्यान्सर विजेताले आत्मबल बढाउन प्रोत्साहन गर्नुपर्दछ। क्यान्सर रोग विशेषज्ञहरूका अनुसार बिरामीले आत्मबल उच्च राख्दै लामो समय बाँच्नका लागि आफ्नो दैनिकीलाई व्यवस्थित गर्नुपर्दछ। सही आहार विहारले बिरामीलाई शारीरिक एव मानसिक रूपमा स्फूर्ति राख्दछ।

म लडेर पनि उठेँ

क्यान्सरको कहरले दिएको पीडाको पहाड छिचोल्नु सजिलो छैन। पीडा सहन नसकेर मृत्युको कामना गर्दै तड्पिएको क्षण मेरो स्मृति पटलमा गढेर बसेको छ। घातक रक्त क्यान्सर, तीन चोटि कोभिड, आधा दर्जन पटक निमोनियाले पनि मलाई लगेन। गलायो मात्रै। थकायो मात्रै। म लडेर पनि उठेँ। उठेर दौडन सक्ने अवस्थामा छु। पुरानै लयमा फर्किएको छु।

मकालु टेलिभिजनमा कार्यक्रम संचालन गर्दै पौडेल

जीवनमा सधैँ उज्यालोको मात्र कल्पना गर्नु बेकार हो। रातपछि दिन आउने प्रकृतिको नियम हो। क्यान्सर लागेर वर्षौँदेखि बाँचेकाहरू हाम्रै समाजमा छन्। उपरवालाले लिने हरेक परीक्षाहरूमा जसोतसो पास हुँदै गएँ। क्यान्सरले मेरो सोचमा समेत परिवर्तन ल्याइदियो। क्यान्सरले मलाई जीवनको अर्थ बुझ्ने मौका दियो। क्यान्सरका बिरामीलाई सेवा गर्ने मौका दियो। दुःखमा पनि बाँच्न सक्ने हिम्मत दियो।

युट्युबे डाक्टरको भरपर्दा

मै डेढ वर्षदेखि क्यान्सरका धेरै बिरामीको सामीप्यमा बसेर काम गरिरहेको छु। भर्खर क्यान्सर पत्ता लागेका बिरामीहरू धेरै आत्तिनु हुन्छ। जब चिकित्सकले ल्याब रिपोर्टहरू हेरेर क्यान्सर प्रमाणित गर्नुहुन्छ, उहाँहरू धेरै आत्तिनु भएको पाउँछु। क्यान्सर शब्द सुन्दै खेरि धेरैको सातो गइसकेको हुन्छ।

अस्पतालमा भेट्ने क्रममा मैले धेरै क्यान्सरका नयाँ पुराना बिरामीलाई औषधी विज्ञानको बारेमा बुझाउने प्रयास गरेको छु। बिरामीको आत्मबल खस्किएको बेला उनीहरूलाई हौसला दिएर उच्च मनोबलका साथ क्यान्सर विरुद्ध लड्न प्रेरित गर्ने गरेको छु। तर कोही कोही आत्तिएर वैद्यको शरणमा पनि पुग्नु हुन्छ। कोही भान्सा परिवर्तन गर्नतिर लाग्नु हुन्छ। वैद्यको औषधीले केही समय राम्रो भए जस्तो पनि हुँदो रहेछ। भान्सा परिवर्तन गर्नु पनि नराम्रो होइन। तर ए अब म निको हुन्छु भन्दै कुनै कुनै बिरामी किमो लगाउन छोड्नु हुन्छ। किमोको साइकल पूरा नगरी बिचैमा छोड्दा रोग तुरुन्त बल्झिन्छ र मृत्युको मुखमा पुगिन्छ। कोही क्यान्सर निको हुन्छ भन्दै भारतका केही युट्युबे डाक्टरहरूको पछि लाग्नु हुन्छ। जे-जे गरे पनि विज्ञानले पुष्टि गरेको क्यान्सरको उपचार किमो र रेडिएसन थेरापीको विकल्प छैन।

क्यान्सर: भ्रम र यथार्थ

क्यान्सर बारे पनि अझै धेरैमा भ्रम छ। त्यो के भने क्यान्सर निकै हुँदैन। क्यान्सर लागेपछि मरी पो हालिने हो कि भन्ने धेरैलाई लागेको हुन्छ। तर त्यो सत्य होइन। क्यान्सरले नराम्ररी लडाउँछ, लडेर पनि उठ्ने हिम्मत गर्नुपर्छ। क्यान्सरले मृत्युको छाया देखाउँछ। तर हिम्मतका साथ त्यसलाई परास्त गर्नुपर्छ। क्यान्सर लागेपछि सही समयमा सही उपचार भयो भने बाँच्ने सम्भावना धेरै नै हुन्छ।

क्यान्सर लागिसकेपछि रोगको स्थिति र शरीरको कुन भागमा क्यान्सर लागेको हो भन्ने कुराले पनि बिरामीको आयु निर्धारण गर्दछ। यदि कसैलाई सामान्य अवस्थाको क्यान्सर लागेको छ अथवा क्यान्सरको सुरु मात्रै भएको छ भने हताश नभईकन उपचार थाल्नु पर्दछ। समयमै सही अस्पताल, सही चिकित्सक र सही उपचार गर्न सकेको खण्डमा क्यान्सर पनि अरू रोगहरू जस्तै निको हुन्छ र उपचारपछि लामो समय बाँच्न सकिन्छ। आफ्नो मनलाई एकाग्र गरी सकारात्मक सोचको विकास गर्नुपर्दछ।

यसो गरेको खण्डमा चिकित्सकले चौथो चरणको क्यान्सर लागेर मृत्युको मिति घोषणा भइसकेका बिरामीले पनि लामो समय बाँच्न सकेका छन्। यसका लागि बिरामीको आत्मबल र आत्मविश्वासले ठुलो काम गरेको हुन्छ I

चिकित्सा विज्ञानमा फड्को

विगतमा सही उपचार नपाएर क्यान्सर बिरामीहरूको मृत्यु छिटो हुने गर्दथ्यो भने आज चिकित्सा विज्ञानले धेरै फड्को मारिसकेको छ र सबै प्रकारका क्यान्सरको औषधी पत्ता लागिसकेको छ। धेरै क्यान्सर अस्पतालहरू बनिसकेका छन् भने फरक–फरक प्रकारका क्यान्सरका लागि फरक–फरक विशेषज्ञहरू उपलब्ध छन्।

हाल क्यान्सरलाई उपचार हुन सक्ने रोगका रूपमा लिन थालिएको छ।। भर्खरै गरिएको वैज्ञानिकहरूको खोजले क्यान्सर कोषहरूलाई नष्ट गर्ने एउटा अभूतपूर्व उपाय पत्ता लगाएको छ। जसलाई एमिनोसायनाइन भनिने विशेष अणुहरू नजिकको इन्फ्रारेड प्रकाश प्रयोग गरेर कम्पन गराएर नष्ट गर्छन्।

मेलानोमा ट्युमर भएका मुसाहरूमा परीक्षण गर्दा, आधा मुसाहरू पूर्ण रूपमा निको भएका थिए। रसियामा पनि क्यान्सरको औषधी पत्ता लागेको समाचारहरू पनि आइरहेको छ। भोलिका दिनमा थप अनुसन्धान हुँदै जाला। क्यान्सरपछि पनि जीवन सामान्य रूपमा चल्छ भनेर बुझ्न अब ढिला गर्नु हुन्न।

(लेखक पौडेल हाम्रो पेज अनलाईनका सम्पादक हुनुहुन्छ I पौडेल हाल विराट क्यान्सर इन्स्टिच्युट विराटनगरको परामर्श विभागमा कार्यरत हुनुहुन्छ I उहाँले त्यहाँ क्यान्सरका विरामीलाई हौसला प्रदान गर्दै क्यान्सर रोग बारे परामर्श गरिरहनुभएको छ।)

विराट अस्पतालमा क्यान्सर पीडितका आफन्तसंग परामर्श गर्दै पौडेल