एमालेमा अब अनुशासनहीन गतिविधिमाथि कारबाही हुन्छः अध्यक्ष ओली

हाम्रो पेज

५ श्रावण २०८२, सोमबार १९:१९
एकताबद्ध भएर मिसन ०८४ मा केन्द्रित हुनुहोस्, अनावश्यक विवादमा नलाग्नुहोस्

काठमाडौँ ५ श्रावण । नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएका अनुशासनहीन गतिविधिप्रति कडा चेतावनी दिँदै अब त्यस्ता क्रियाकलाप दोहोरिएमा कारबाही हुने बताउनुभएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीमा कुनै मतभेद नरहेको स्पष्ट पार्दै सम्पूर्ण पंक्तिलाई एकताबद्ध भएर मिसन ०८४ मा केन्द्रित हुन निर्देशन दिनुभयो। बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटवार्ताका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो। उहाँका अनुसार, भेटवार्ताका लागि प्रस्ताव पूर्वराष्ट्रपति भण्डारीबाटै आएको थियो। भेटवार्ता कहाँ गर्ने भन्ने सन्दर्भमा, उहाँले ,पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु भन्नुभयो र भेटघाट पार्टी कार्यालयमै भयो, अध्यक्ष ओलीले बैठकमा भन्नुभयो। उहाँले भेटका क्रममा राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा स्पष्ट रूपमा राखिएको बताउनुभयो। देशको अभिभावकको रूपमा रहिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश जाँदैन, सम्मानित भएर बस्नु नै उचित हुन्छ भनेर मैले सुझाव दिएको छु, ओलीले भन्नुभयो, उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ। उहाँको धारणा आएपछि पार्टीले आवश्यकताअनुसार थप निर्णय गर्नेछ। अध्यक्ष ओलीले केही नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बनेर सञ्चारमाध्यममा अनावश्यक बयानबाजी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। हिजोको भेटलाई कट अफ बैठकको रूपमा लिनुपर्छ। अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिएमा कारबाही अवश्य हुनेछ, उहाँले चेतावनी दिनुभयो।

उहाँले भण्डारी पार्टी कार्यालय आउँदा देखिएका केही असन्तुष्ट समूहप्रति लक्षित गर्दै भन्नुभयो, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए। अध्यक्ष ओलीले एमालेमा वैचारिक र नीतिगत रूपमा कुनै मतभेद नरहेको दाबी गर्दै पार्टीलाई विभाजन गराउन खोज्ने तत्वहरूबाट सचेत रहन आग्रह गर्नुभयो। विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन्। उनीहरू झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन्, उहाँले भन्नुभयो, यस्ता चुनौतीको सामना हामीले गर्दै आएका छौं र फेरि पनि गर्छौं। पछिल्लो समय पार्टीको सदस्यता १ लाख ३९ हजारले वृद्धि भएको जानकारी दिँदै उहाँले एमालेलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा रूपान्तरण गर्न आह्वान गर्नुभयो। एकताबद्ध भएर अघि बढ्दा २०८४ को निर्वाचनमा हामीलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन, उहाँले दाबी गर्नुभयो। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको व्यवस्थापकीय तयारीबारे पनि छलफल हुनेछ। सदस्यहरूलाई प्रस्तावित विधानमाथि धारणा राख्न तीन मिनेटको समय दिइएको छ। प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाउने विषय समावेश छ, जसलाई केन्द्रीय कमिटीबाट पारित गराएर विधान महाधिवेशनमा लगिनेछ। केन्द्रीय कमिटी बैठक भोलिसम्म चल्ने बताइएको छ।