search logo
NOTIFICATIONS

मनसुन सक्रियः देशभर वर्षा, बाढीपहिरोले ६ राजमार्ग पूर्ण अवरुद्ध

हाम्रो पेज

५ श्रावण २०८२, सोमबार ११:२०

काठमाडौँ ५ श्रावण । देशभर मनसुन सक्रिय भएसँगै अधिकांश स्थानमा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाले प्रमुख नदीहरूमा पानीको बहाव हालसम्म सामान्य रहेको जनाएको छ। कोशी, नारायणी, कर्णाली र महाकाली जस्ता ठूला नदीहरूको जलस्तर सतर्कता तहभन्दा तलै छ।
यद्यपि, ताप्लेजुङदेखि कञ्चनपुरसम्मका पहाडी जिल्लाहरूमा रहेका साना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, काठमाडौँ उपत्यकासहित अन्य जिल्लाहरूमा पनि बाढीपहिरोको मध्यम जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ। सम्भावित जोखिमबाट बच्न सम्बन्धित निकाय र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न सडक मार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार हाल ६ वटा मुख्य राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही सडक एकतर्फी मात्र सञ्चालनमा छन्।


पूर्ण रूपमा अवरुद्ध राजमार्गहरूमा
कोशी राजमार्ग संखुवासभा खण्ड
मेची राजमार्ग पाँचथर खण्ड
तमोर करिडोर पाँचथर खण्ड
कालीगण्डकी करिडोर नवलपरासी पूर्व खण्ड
सहिद राजमार्ग रोल्पा खण्ड
जाजरकोट डोल्पा भेरी करिडोर रुकुमपश्चिम खण्ड
एकतर्फी सञ्चालनमा रहेका सडकहरू
काठमाडौँनुवाकोट सडक खण्ड
मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड
कालीगण्डकी करिडोर बागलुङ खण्ड
सहिद राजमार्ग रोल्पाको अर्को खण्ड
प्रहरीका अनुसार अवरुद्ध सडकहरूमा पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास निरन्तर भइरहेको छ। यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।