हाम्रो पेज

काठमाडौँ, ४ श्रावण । नेपाल क्रिकेट संघ क्यान ले लगातार दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी को प्रतिष्ठित ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ। नेपाली क्रिकेट समर्थकको विश्वव्यापी जोश र अद्वितीय समर्थनले फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएको छ। गत वर्ष एसिया क्षेत्रको विजेता बनेको नेपालले यसपटक विश्वभरका क्षेत्रीय विजेताहरूलाई पछि पार्दै ‘ग्लोबल अवार्ड’ आफ्नो पोल्टामा पारेको हो। आईसीसीले आफ्नो वार्षिक सम्मेलनका क्रममा विजेताहरूको घोषणा गरेको हो, जहाँ नेपाललाई विश्वकै उत्कृष्ट फ्यान इन्गेजमेन्ट गर्ने राष्ट्रका रूपमा सम्मान गरियो। यो विधामा ग्लोबल अवार्डका लागि अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया छनोट भएका थिए। यी सबैलाई पछि पार्दै नेपालले विश्वव्यापी उपाधि जितेको हो। आईसीसीका अनुसार, पछिल्लो एक वर्षमा फेसबुकलगायतका सामाजिक सञ्जालमा नेपाली क्रिकेट फ्यानबेसको पहुँच ४०० प्रतिशतभन्दा बढीले बढेको छ, जुन यो अवार्ड जित्नुको प्रमुख आधार हो।

यो ऐतिहासिक सफलतापछि आईसीसीसँग कुरा गर्दै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यो उपलब्धिप्रति गर्व लागेको प्रतिक्रिया दिनुभएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव खड्का र कोषाध्यक्ष पदम खड्काले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको हो। क्यानका प्रवक्ता छुम्बी लामाले लगातार दुई वर्षसम्म यो अवार्ड जित्नु नेपाली क्रिकेट र यसका लाखौं समर्थकका लागि गौरवको विषय भएको बताउनुभयो। अवार्ड जितेपछि क्यानका सचिव खड्काले सबैलाई बधाइ दिनु भएको छ । नेपाल क्रिकेट संघका सबैजना, अध्यक्ष चतुर बहादुर चन्द, बोर्ड सदस्यहरू र नेपाल क्रिकेटसँग सम्बन्धित सबैजनालाई लगातार दोस्रो वर्ष आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड जितेकोमा बधाई छ। खड्काले थप लेख्नु भएको छ, हाम्रो सबैभन्दा ठूलो प्रेरणा राइनो फ्यानहरू तपाईंको अटल समर्थनको लागि धन्यवाद। तपाईंले खेललाई अगाडि बढाउन, प्रेरणा दिन र अगाडि बढाउन जारी राख्नुभयो।
सँगै, हामी बढ्दै र बढ्दै जान्छौं।