NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, २ श्रावण । नेकपा एमाले भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक पुनरागमनको विषयले गम्भीर र औपचारिक बहसको रूप लिएको छ। शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा यो विषयले प्राथमिकता पाएको हो, जहाँ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्नो व्यक्तिगत धारणा राख्दै यसलाई एउटा गम्भीर विषयको रूपमा व्याख्या गर्नुभएको छ। पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले देशको सर्वोच्च र गरिमामय पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्कने विषय सामान्य नभएको बताउनुभएको थियो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्नुभयो, राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको, नेपाली सेनाको परमाधिपति भइसकेको र गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति सक्रिय राजनीतिमा प्रवेश गर्ने विषय एउटा गम्भीर विषय हो। यसलाई पार्टीले हल्का रूपमा लिँदैन र उचित समयमा छलफल गरेर निष्कर्ष निकाल्नेछ। अध्यक्ष ओलीले बैठकमा आफूलाई पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनबारे पत्रपत्रिकाबाट मात्र थाहा भएको समेत बताउनुभएको थियो। ओलीले भन्नुभयो, उहाँलाई पार्टीले नै दुई पटक राष्ट्रपति बनाएको हो। वर्तमान संवैधानिक व्यवस्थाअनुसार उहाँ सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित जिम्मेवारी दिइएको थियो। कसैले उचालेको भरमा उहाँजस्तो व्यक्तित्व सक्रिय राजनीतिमा आउनु हुँदैन, यसले उहाँप्रतिको विश्वास र पदको गरिमामाथि प्रश्न उठाउँछ। अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको र सदस्यताको निर्णय विधि र प्रक्रियाअनुसार कमिटीले नै गर्ने स्पष्ट पार्नुभएको छ। उहाँको सदस्यता नवीकरण भएको छैन। सदस्यताको निर्णय विधि र प्रक्रियासम्मत छलफल गरेर कमिटीले गर्छ। यो मेरो व्यक्तिगत धारणा हो, ओलीले बैठकमा भन्नुभयो। पछिल्लो समय चर्चामा रहेको विधान छापिएको विषयमा पनि अध्यक्ष ओलीले आफ्नो धारणा राख्नुभएको थियो। उहाँले पार्टीभित्रका विषयमा बाहिर गएर बोल्नु उचित नहुने बताउँदै भन्नुभयो, पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्रै छलफल हुन्छ। पार्टीमाथि चौतर्फी संगठित हमला भइरहेका बेला बाहिर गएर बोल्दा त्यसले पार्टीलाई नै कमजोर बनाउँछ। कभर मात्र फरक परेको विषयलाई लिएर बबण्डर मच्चाउनु आवश्यक छैन।