
विराटनगर २ श्रावण । जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले शनिबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई देशभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेका छन्। भारतको उत्तर प्रदेशतर्फ रहेको मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गरेकाले त्यसको प्रत्यक्ष प्रभावस्वरूप सोमबारसम्म नै मुलुकका अधिकांश स्थानमा वर्षाको मात्रा बढ्ने प्रक्षेपण गरिएको हो। विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार, हालको सामान्य अवस्था शनिबार दिउँसोसम्म मात्र रहने र त्यसपछि मौसममा उल्लेख्य परिवर्तन आउने देखिन्छ। उहाँका अनुसार, पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जानेछ, जसले गर्दा देशभर वर्षाको मात्रा बढ्नेछ। उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा नेपालतर्फ आउने संकेत देखिएको छ, जसले गर्दा वर्षा बढ्ने निश्चित छ,मौसमविद् अधिकारीले जानकारी दिनुभयो। यसअघि बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीले पनि मधेश प्रदेशमा राम्रो वर्षा गराउने अनुमान गरिएको थियो। सोही प्रणालीका कारण बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ुएलो अलर्ट पहेँलो संकेत समेत जारी गरेको थियो। तर, उक्त प्रणाली मध्य बिहार हुँदै भारतको इलाहाबादतर्फ मोडिएकाले नेपालमा त्यसको ठूलो प्रभाव परेन। तराईका केही जिल्लामा हल्का वर्षा र बादल मात्र सीमित भएको थियो। तर, अब विकसित हुन लागेको नयाँ प्रणाली भने पहिलेको भन्दा शक्तिशाली हुने मौसमविद्हरूको अनुमान छ। विगतको प्रणाली नेपाल नजिक नभएकाले ठूलो वर्षा हुन सकेन, मौसमविद् अधिकारीले भन्नुभयो, तर अब विकसित हुने प्रणाली नेपालतर्फ नै सोझिने भएकाले वर्षा उल्लेख्य रूपमा बढ्ने देखिन्छ। त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म देशभर फैलने बताउनुभयो। उहाँले नदीतटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। शनिबार रातिदेखि सोमबारसम्म देशभर भारी वर्षाको पूर्वानुमान रहेकाले सबैजना सचेत रहनु अत्यावश्यक छ, सहप्राध्यापक पोखरेलले भन्नुभयो। मौसमविद्हरूले यो पूर्वानुमानलाई निरन्तर अध्यावधिक गर्दै जाने बताएका छन्। भारी वर्षाका कारण नदीहरूमा जलस्तर बढ्न सक्ने, बाढी तथा पहिरोको जोखिम उच्च हुने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।