हाम्रो पेज
काठमाडौं ३१ अषाढ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको गरिमामय पदमा नियुक्त गर्नुभएको छ। घुस प्रकरणमा मुछिएपछि पूर्वमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएसँगै रिक्त रहेको मन्त्रालयको जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो।
तनहुँको भानु नगरपालिकाकी स्थायी बासिन्दा न्यौपाने हाल राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ। उहाँको राजनीतिक यात्रा निकै सङ्घर्षपूर्ण रहेको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा उहाँ भानु नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नुभएको थियो। यद्यपि, उक्त निर्वाचनमा उहाँ नेपाली काँग्रेसका उम्मेदवार उदयराज गौलीसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो। स्थानीय तहको निर्वाचनमा पराजित भए पनि पार्टीले उहाँको योगदानको कदर गर्दै विसं २०७६ माघमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गरेको थियो। त्यस समय स्थानीय निर्वाचनमा पराजित उम्मेदवारलाई राष्ट्रिय सभामा मनोनयन गरिएको भन्दै केही आलोचनासमेत भएको थियो। राष्ट्रिय सभा सदस्यको रूपमा उहाँको छ वर्षे कार्यकाल आगामी फागुन महिनामा समाप्त हुँदैछ। कार्यकाल सकिनु केही महिनाअघि उहाँले संघीय मन्त्रीको रुपमा देशको सेवा गर्ने अवसर प्राप्त गर्नुभएको छ।