search logo
NOTIFICATIONS

भाटभटेनीद्वारा शिक्षण अस्पताललाई साढे ९ करोडको अत्याधुनिक भवन हस्तान्तरण

हाम्रो पेज

३० असार २०८२, सोमबार १५:३६

काठमाडौं, ३० अषाढ । प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी सुपरमार्केटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक ईएचएस भवन निर्माण गरी हस्तान्तरण गरेको छ। सोमबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नवनिर्मित भवनको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो। भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना दिवङ्गत मातापिता वृषबहादुर र धनमाया गुरुङको स्मृतिमा करिब नौ करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिदिनुभएको हो। यो भाटभटेनीले शिक्षण अस्पताललाई हस्तान्तरण गरेको दोस्रो भवन हो। यसअघि २०६८ सालमा पनि सुपरमार्केटले करिब १० करोड रुपैयाँको लागतमा आकस्मिक कक्ष भवन निर्माण गरिदिएको थियो। भवन हस्तान्तरण तथा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीको परोपकारी कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। धेरैले धन कमाउँछन्, तर कमाएको धनलाई समाजसेवा र परोपकारमा लगाउने मन कमैको हुन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ूदानवीर भनेर चिनिनुभएका मीनबहादुरजी र उहाँकी धर्मपत्नी सावित्राजीले सम्पूर्ण नेपाली जनताको स्वास्थ्योपचारका लागि गर्नुभएको यो योगदान अविस्मरणीय छ। उहाँले गुरुङ दम्पतीले देशका विभिन्न स्थानमा बाल अस्पताल र विद्यालय भवन निर्माण जस्ता असाधारण राम्रा कामहरू गर्दै आएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। सो अवसरमा भाटभटेनीका अध्यक्ष गुरुङले आफूहरूले निर्माण गरेको भवन हस्तान्तरण गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनुभयो। उहाँले २०६८ सालमा डा. अरुण सायमीको आग्रहमा आकस्मिक भवन निर्माणमा सहयोग गरेको क्षणलाई स्मरण गर्नुभयो। अध्यक्ष गुरुङले आउँदा दिनमा पनि मानव सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।