स्वास्थ्य बिमामा आठ जटिल रोगको उपचार खर्च दोब्बर, अब २ लाख पाइने

हाम्रो पेज

२५ असार २०८२, बुधबार १४:५१

काठमाडौं २५ अषाढ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध लाखौं नागरिकका लागि एक महत्त्वपूर्ण र राहतदायी निर्णय भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको विशेष पहलमा आठ प्रकारका जटिल रोगका बिरामीले पाउने उपचार सहायता रकम दोब्बर बनाइएको छ। आउँदो साउन १ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार अब बिमितले १ लाखको सट्टा २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्नेछन्। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा स्वास्थ्य बिमा बोर्डको मंगलबार बसेको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्दै नागरिकको पीडामा मलम लगाउने उद्देश्यले यो कदम चालिएको बताउनुभएको छ। आफ्नो सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं। यस्तै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मन्त्रालयको निर्देशनअनुसार बोर्ड बैठकले उक्त निर्णय गरेको र यसलाई तत्काल कार्यान्वयनमा लगिने जानकारी दिनुभएको छ ।
कुन-कुन रोगमा पाइन्छ दोब्बर सुविधा ?

क्यान्सर
मुटु रोग
मृगौला रोग
हेड इन्जुरी
स्पाइनल इन्जुरी
सिकलसेल एनिमिया
पार्किन्सोनिजम
अल्जाइमर
उपचार सुविधा वृद्धि गर्नुका साथै स्वास्थ्य बिमा कोषलाई दिगो र बलियो बनाउन मन्त्री पौडेलले एकैसाथ विभिन्न नीतिगत सुधारहरू अघि बढाउनुभएको छ। यी कदमहरूले कोषको आयस्रोत बढाउने र कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारी र वैदेशिक रोजगारीमा जानेहरू र उनीहरूका परिवारलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध गराइनेछ। यस्तै सरकारले बजेटमार्फत बिमा बोर्डको सम्पूर्ण बक्यौता शून्यमा झार्ने घोषणा गरिसकेको जनाएको छ । संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत रकम स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको जनाएको छ। यस्तै अनियमित भुक्तानी दाबी गर्ने अस्पतालहरूलाई कारबाही गरिएको छ भने निगरानी बढाउन प्रणालीगत सुधार गरिएको छ। मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गर्न आफूहरू निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ। यसअघि नै उहाँले बिमा सदस्यले आफू बसेकै ठाउँबाट पहिलो उपचार सेवा लिन पाउने र हरेक तहमा बिमा सुविधा उपयोग गर्न सक्ने गरी नीतिगत निर्णय गरिसक्नुभएको छ।