search logo
NOTIFICATIONS

मोरङमा अंश विवादमा विभत्स हत्याःदेवरले गरे हँसियाले हानेर भाउजूको हत्या ?

हाम्रो पेज

२४ असार २०८२, मंगलवार १४:०८
विराटनगर २४ अषाढ । मोरङको रतुवामाई नगरपालिकामा दाजुभाइबीचको अंश विवादले एक महिलाको ज्यान गएको छ। आफ्नै भाउजूको हँसिया प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले मृतकका देवरलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, रतुवामाई नगरपालिका–६ निवासी ६० वर्षीया बोल्न नसक्ने टिकामाया कार्की बस्नेतको हत्या आरोपमा उनका देवर टंक बहादुर बस्नेतलाई पक्राउ गरिएको हो। मृतकका पति गणेश बहादुर बस्नेत टंकका दाजु हुन् । गत असार ११ गते साँझ, टिकामाया आफ्नै बारीमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा पुगेको प्रहरी र फरेन्सिक डाक्टरको टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा उनको टाउकोको पछाडिपट्टि गहिरो चोट लागेर मृत्यु भएको देखिएको थियो। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानलाई गहिरो बनाउँदै जाँदा पारिवारिक विवादको तथ्य बाहिर आएको हो। प्रहरीका अनुसार, पक्राउ परेका देवर टंक बहादुर र उनका दाजु गणेश बहादुर बस्नेतबीच लामो समयदेखि अंशबण्डालाई लिएर चलिरहेको विवाद उच्च अदालतबाट छिनोफानो भइसकेपनि सोही विवादका क्रममा उत्पन्न भएको रिसको आवेगमा टंक बहादुरले आफ्नी भाउजू टिकामायाको टाउकोमा हँसियाले प्रहार गरी हत्या गरेको कुरा अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


प्रहरीले घटनाको दुई दिनपछि असार १३ गते टंक बहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरेको छ। प्रहरीले घटनामा प्रयोग भएको हँसियासमेत बरामद गरेको छ। पक्राउ परेका टंक बहादुरलाई ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।