search logo
NOTIFICATIONS

कोशीका मन्त्रीमाथि ‘क्यूआर आतङ्क’ को आरोप, प्रतिपक्षी दलद्वारा राजीनामा माग, श्री ५ सम्बोधनले बबाल

हाम्रो पेज

२३ असार २०८२, सोमबार १६:१०

विराटनगर २३, अषाढ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ले राजीनामा माग गरेको छ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद राजन किरांतीले मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको आरोप लगाउनुभयो। उहाँका अनुसार, मन्त्रीको सचिवालयमा ‘अनधिकृत सचिव’ का रूपमा कार्यरत अमृत मेहता नामक व्यक्तिको क्युआर कोडमार्फत कर्मचारीहरूसँग रकम सङ्कलन भइरहेको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको समाचार सार्वजनिक भएको छ। सांसद किरातीले भन्नुभयो, “यो प्रकरणले बजेट निर्माणमा समेत बिचौलियाको संलग्नता रहेको हाम्रो पुरानो आशंकालाई पुष्टि गरेको छ।” उहाँले यो विषय अत्यन्त गम्भीर भएकाले सरकारले तत्काल छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउन सभामुखमार्फत माग गर्नुभयो। यस्तो गम्भीर आरोप लाग्दा समेत मन्त्री मण्डल सदनमा अनुपस्थित रहनुले उहाँको नैतिकतामाथि प्रश्न उठेको बताउँदै किरातीले भन्नुभयो, “नैतिकताको आधारमा उहाँले राजीनामा दिनु उपयुक्त हुन्छ, हामी यही सुझाव दिन चाहन्छौँ।”
‘श्री ५’ को सम्बोधनलाई लिएर विवाद, रेकर्डबाट हटाउन माग


यसैबीच, कोशी प्रदेशसभा बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले उक्त सम्बोधन प्रयोग गरेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “नेपालको संविधानले ‘श्री ५’ भनेर चिन्दैन, उहाँ ज्ञानेन्द्र शाह मात्रै हो। संविधानले नचिन्ने कुरा संसदीय रेकर्डबाट हटाइयोस्।” एमाले प्रमुख सचेतकको मागपछि सभामुख अम्बरबहादुर विष्टले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “बोल्नै नपाउने भन्ने छैन, उहाँले जे भने पनि संविधानले जे भन्छ त्यही कायम भएर जाने कुरा हो।” यद्यपि, लिङ्थेपले संविधानको परिधिभित्र रहन आग्रह गरेपछि सभामुख विष्टले बैठकलाई अगाडि बढाउनुभएको थियो। राप्रपाबाट निर्वाचित सभामुख विष्ट यसअघि पनि गणतन्त्र दिवसलगायतका सरकारी कार्यक्रममा अनुपस्थित रहँदै आउनुभएको थियो ।