search logo
NOTIFICATIONS

विराटनगरमा कोभिड १९ विरुद्धको फाइजर खोप अभियान सञ्चालन हुने, दीर्घरोगी र ज्येष्ठ नागरिक प्राथमिकतामा

हाम्रो पेज

२३ असार २०८२, सोमबार १४:५४
विराटनगर २३ अषाढ । विराटनगर महानगरपालिकाले कोभिड १९ विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै यही असार २४ र २६ गते दुई दिनका लागि खोप कार्यक्रम तय भएको जानकारी दिएको हो। महानगरपालिकाका स्वास्थ्य संयोजक दिलीप कुमार यादवद्वारा हस्ताक्षरित सूचनाअनुसार, यो अभियान विशेष गरी बुस्टर डोज लगाउन बाँकी रहेका, ज्येष्ठ नागरिक र अन्य उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको छ। खोप कार्यक्रम महानगरभित्रका सम्पूर्ण वडाहरूमा रहेका स्वास्थ्य संस्थाहरुबाट सञ्चालन हुनेछ।

महानगरपालिकाले खोप लगाउनका लागि निम्न समूहहरूलाई प्राथमिकतामा राखेको छ
५५ वर्षभन्दा माथिका सबै नागरिक
१२ वर्षभन्दा माथिका दीर्घरोगीहरू
हालसम्म बुस्टर डोज नलगाएका व्यक्तिहरू
प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरू
अन्य उच्च जोखिम समूहमा रहेका व्यक्तिहरू

खोप लगाउनका लागि तोकिएको खोप केन्द्रमा जाँदा आफ्नो खोप कार्ड र परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर आउन महानगरपालिकाले अनुरोध गरेको छ। महानगरले लक्षित समूहमा पर्ने सबै नगरवासीलाई तोकिएको मितिमा नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाएर आफू र समुदायलाई सुरक्षित राख्न अपिल गरेको छ।