हाम्रो पेज
विराटनगर,२३ अषाढ । देशभर मनसुन सक्रिय भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो र राति देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान छ । यसैबीच, गएरातिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी र पहिरोले सडक तथा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

बाढी पूर्वानुमान महाशाखाले विशेषगरी केही जिल्लाहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, ललितपुर र भक्तपुर भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना छ । यस्तै कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व र पश्चिम, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप र खोटाङका नदी तटीय क्षेत्रमा पनि सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ । गएराति काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी पानी परेको थियो । आज बिहान काठमाडौँ उपत्यकामा घाम लागे पनि दिउँसो पुनः वर्षा हुने सम्भावना छ । अविरल वर्षापछिको बाढी र पहिरोले देशका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । गएराति करिब ९ बजे पुण्यमाता खोलामा आएको बाढीले ह्युमपाइपमाथिको माटो बगाएपछि भक्तपुर नाला सडकखण्ड पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ । भ्रेको बनेपा ४ र १ को सीमामा रहेको यो सडक काठमाडौँ आवतजावतको वैकल्पिक मार्ग हो । असार २० गते पुल भाँचिएपछि अस्थायी रूपमा राखिएको ह्युमपाइप पनि बाढीले प्रभावित बनाएको हो । यस्तै म्याग्दीको बेनी नगरपालिका ४ स्थित घुमाउने भिरमा पहिरो खस्दा बेनी दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरोले सडक पुरिँदा सयौँ सवारी साधन अलपत्र परेका छन् । प्रहरीले पहिरो हटाएर सडक खुलाउने प्रयास गरिरहेको छ । दोलखाको जिरी नगरपालिका ९ बसेरीमा पहिरोले झाँक्रे खोला जलविद्युत परियोजनामा क्षति पुर्याएको छ । ६३५ किलोवाट क्षमताको उक्त आयोजनाको टर्बाइन रहेको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको छ । महाशाखाले मनसुनी वर्षा जारी रहने हुँदा नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका ठाउँहरू र यात्राका क्रममा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।