search logo
NOTIFICATIONS

स्पेनको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नेपालको भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत

हाम्रो पेज

२० असार २०८२, शुक्रबार १८:३०

काठमाडौँ २० अषाढ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ। उहाँ ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपश्चात् प्रधानमन्त्री सीधै आफ्नो सरकारी निवास बालुवाटारतर्फ प्रस्थान गर्नुभयो। प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँको तर्फबाट भ्रमणको उपलब्धि र विषयवस्तुबारे परराष्ट्र सचिव अमृतबहादुर राईले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको थियो। परराष्ट्र सचिव राईका अनुसार, प्रधानमन्त्री ओली स्पेनका प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघका महासचिवको औपचारिक निमन्त्रणामा गत असार १४ गते एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गर्नुभएको थियो।

भ्रमणको मुख्य उद्देश्यको रूपमा रहेको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सचिव राईले बताउनुभयो। प्रधानमन्त्रीज्यूले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको हैसियतमा सम्मेलनको मूल सत्रलाई जुन ३० मा सम्बोधन गर्नुभयो, सचिव राईले भन्नुभयो,उक्त सम्बोधनमार्फत उहाँले नेपाललगायत अति कम विकसित राष्ट्रहरूका साझा चासो र विकासका प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्नुभयो। यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउने विश्वव्यापी प्रयासमा नेपालको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिकालाई स्थापित गरेको विश्वास गरिएको छ।