हाम्रो पेज
विराटनगर, अषाढ १९। स्पेन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व फुटबलको एक प्रतिष्ठित तीर्थस्थल, स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउको भ्रमण गर्नुभएको छ। यस ऐतिहासिक अवसरमा क्लबले प्रधानमन्त्री ओलीलाई उहाँको नाम अंकित प्रतिष्ठित ७ नम्बरको जर्सी प्रदान गरी विशेष सम्मान व्यक्त गरेको छ। क्लबको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई रियल मड्रिडका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले हार्दिक स्वागत गर्नुभएको थियो। निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई ८०० मिलियन युरोको लागतमा पुनर्निर्मित अत्याधुनिक रंगशालाको अवलोकन गराउँदै क्लबको गौरवशाली इतिहास, सफलताका गाथाहरू र भविष्यका महत्त्वाकांक्षी योजनाहरूबारे विस्तृत जानकारी गराउनुभयो। सो अवसरमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत उच्च पदस्थ नेपाली प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबारे संसदमा जानकारी गराउँदा रियल मड्रिडका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभएको थियो । भ्रमणको सबैभन्दा स्मरणीय क्षणमा, क्लबले प्रधानमन्त्री ओलीलाई उहाँको नाम अंकित प्रतिष्ठित ७ नम्बरको जर्सी प्रदान गर्यो। रियल मड्रिडमा ७ नम्बर जर्सीलाई क्रिस्टियानो रोनाल्डो, राउल गोन्जालेज जस्ता विश्वविख्यात खेलाडीहरूले लगाएका कारण विशेष सम्मान र विरासतको प्रतीक मानिन्छ। प्रधानमन्त्री ओलीले उक्त जर्सी ग्रहण गर्दै खुसीसाथ फहराउनुभएको थियो।
सन् १९०२ मा स्थापित रियल मड्रिडले कीर्तिमानी १५ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। क्लबको घरेलु मैदान, सान्टियागो बर्नबाउ, विश्वकै सबैभन्दा आधुनिक र बहुउपयोगी रंगशालाहरूमध्ये एक हो। यसमा रोलिङ पिच, ३६० डिग्री एलईडी स्क्रिन र प्रतिकूल मौसममा पनि खेल सञ्चालन गर्न मिल्ने छाता संरचनाजस्ता अत्याधुनिक प्रविधिहरू जडान गरिएका छन्। फुटबलबाहेक कन्सर्ट, ई स्पोर्ट्स र अन्य ठूला कार्यक्रम आयोजना गर्न सकिने यो रंगशालालाई कोभिड महामारीका बेला अस्थायी अस्पतालको रूपमा समेत प्रयोग गरिएको थियो। २०३० को फिफा विश्वकपको सम्भावित फाइनल खेल यही रंगशालामा हुने अपेक्षा गरिएको छ। यस भ्रमणले नेपाल र स्पेनबीचको सम्बन्ध, विशेषगरी खेलकुद कूटनीतिमा नयाँ आयाम थपेको विश्वास गरिएको छ। प्रधानमन्त्री ओलीले आजै साँझ मड्रिडस्थित नेपाली राजदूत निवासमा नेपाली समुदायलाई सम्बोधन गरी एक साता लामो औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ।