
काठमाडौं, अषाढ १८। नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र सुरु भएको नेतृत्वको बहसलाई तत्काल रोक्न कडा निर्देशन दिनुभएको छ। राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेको अवस्थामा नेतृत्वबारे हुने कुनै पनि चर्चाले पार्टीलाई कमजोर बनाउने भन्दै उहाँले सम्पूर्ण ध्यान आगामी विधान महाधिवेशनमा केन्द्रित गर्न आग्रह गर्नुभएको हो। नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोकिनुपर्छ। अहिले नेता होइन, नीति र विधि बलियो बनाउने बेला हो।” आगामी भदौ २० देखि २२ गतेसम्मका लागि तय भएको विधान महाधिवेशनलाई सफल बनाउन सबै तहका नेता(कार्यकर्तालाई नीति निर्माण र विधान संशोधनको बहसमा सक्रियतापूर्वक सहभागी हुन उहाँले निर्देशन दिनुभयो। विधान महाधिवेशनको प्रक्रियाबारे प्रस्ट पार्दै उहाँले राजनीतिक र सांगठनिक प्रतिवेदन सिधै केन्द्रीय कमिटीबाट महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुभयो। तर, विधान संशोधनको प्रस्ताव भने केन्द्रीय कमिटीमा छलफल भएपछि सुझावका लागि सबै मातहतका कमिटीहरूमा पठाइनेछ, महासचिव पोखरेलले भन्नुभयो।


बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतका नेताहरूको सहभागिता रहेको थियो। बैठकमा बागमती प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरूले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, टोल कमिटी गठन तथा अन्य सांगठनिक गतिविधिबारे रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो।