हाम्रो पेज
विराटनगर, अषाढ १६ I मोरङ प्रहरीले ‘प्रहरी हौं’ भन्दै एक युवकलाई शरीर बन्धक बनाएर लुटपाट गर्ने समूहका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न विराटनगर ८ का २४ वर्षीय समिर हुसेन र २७ वर्षीय आशिक अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार, घटना गत असार ११ गते बिहान ११ः१५ बजेतिर भएको थियो। विराटनगर १५ का २० वर्षीय विक्रम कुमार साह तेली सिटी सफारीमा तीनलाख ६४ हजार बैंकमा जम्मा गर्न जाँदै हुनुहुन्थ्यो। विराटनगर १३ स्थित रानी राइस मिल नजिक पुग्दा रातो रङको को १४ प ३३३० नम्बरको स्कुटरमा आएका तीन जनाले उनको सिटी सफारी रोकेका थिए। उनीहरूले हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नुछ, भन्दै पीडित विक्रमलाई जबरजस्ती आफ्नो स्कुटरको बीचमा राखेका थिए। त्यहाँबाट उहाँलाई विराटनगर-१४, जतुवास्थित एकान्त स्थलमा लगेर पेस्तोल जस्तो हतियार देखाई उनीसँग भएको सम्पूर्ण रकम लुटेर फरार भएका थिए।

यसरी पक्राउ परे अभियुक्त
पीडितले दिएको निवेदनका आधारमा तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले घटनाको चार दिनपछि, असार १५ गते, हुसेन र अन्सारीलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले लुटपाटमा प्रयोग भएको स्कुटरसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई पीडितले सनाखत गरिसकेका छन्।
प्रहरीले दुवै जनाविरुद्ध ‘शरीर बन्धक तथा डाँका’ कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।