हाम्रो पेज
एजेन्सी, १६ अषाढ । इरानी न्यायपालिकाले राजधानी तेहरानस्थित कुख्यात एभिन जेलमा भएको इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जुन २३ मा भएको यो घटनाले इरान र इजरायलबीच हालै भएको १२ दिने द्वन्द्वको क्रूरतालाई उजागर गरेको छ।
यसैबीच, इरानका एकजना सबैभन्दा वरिष्ठ धर्मगुरुले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध धार्मिक फतवा जारी गरेका छन्। मिजान समाचार एजेन्सीका अनुसार, न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले आक्रमणका पीडितहरूमा जेल कर्मचारी, सुरक्षाकर्मी, कैदी, उनीहरूका परिवार र नजिकैका बासिन्दाहरू समेत रहेको जानकारी दिएका छन्। जहाँगीरले भने, यो आतंकवादी र क्रूर आक्रमणले इजरायलले फेरि एकपटक अन्तर्राष्ट्रिय कानुनप्रति आफ्नो प्रतिबद्धताहीनता प्रमाणित गरेको छ।
ट्रम्प र नेतान्याहु,अल्लाहका शत्रु घोषित
यसैबीच, इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरुमध्ये एक, ग्रान्ड आयतोल्लाह नासिर मकरिम शिराजीले ट्रम्प र नेतान्याहुलाई ‘अल्लाहका शत्रु’ घोषणा गर्दै उनीहरूविरुद्ध कडा फतवा जारी गरेका छन्। उनले विश्वभरका मुस्लिमहरूलाई एकताबद्ध हुन र इरानमाथि आक्रमण गरेकामा यी नेताहरूलाई पश्चात्ताप गर्न बाध्य पार्न आह्वान गरेका छन्। फतवामा भनिएको छ, ूइरानको सर्वोच्च नेता वा कुनै पनि मर्जालाई हानि पुऱ्याउने वा धम्की दिने प्रयास गर्ने जो कोही मोहरिब युद्धप्रेमी अपराधी ठहरिनेछ। फतवा इस्लामिक कानुनको आधिकारिक व्याख्या हो, जुन मर्जाद्वारा जारी गरिन्छ। मर्जा बाह्र इमामी शिया मुस्लिम समुदायमा सर्वोच्च धार्मिक नेताको पद हो, जसको निर्णयलाई लाखौं अनुयायीहरूले मान्ने गर्छन्। उक्त जेल आक्रमण जुन १३ देखि इजरायलले इरानका आणविक र सैन्य स्थलहरूमाथि सुरु गरेको वृहत् हवाई हमलाको एक हिस्सा थियो। १२ दिनसम्म चलेको भीषण संघर्षपछि हाल दुई देशबीच युद्धविराम भएको छ, तर तनाव अझै पनि चरम अवस्थामै छ। यो आक्रमण र त्यसपछिको फतवाले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउन सक्ने विश्लेषण गरिएको छ।