NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, ११ अषाढ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी २० अन्तर्राष्ट्रिय बरीयतामा नेपाली क्रिकेट खेलाडीहरूले मिश्रित तर उत्साहजनक नतिजा हाँसिल गरेका छन्। नेपाली क्रिकेटका स्टार लेग स्पिनर सन्दीप लामिछानेले बलिङतर्फ ऐतिहासिक छलाङ मारेका छन् भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरीयतामा आफ्नो दबदबा कायमै राखेका छन्।
सन्दीप लामिछानेः बलिङमा ४१ स्थान माथि उक्लिँदै ७५औं स्थानमा
नेपाल टिम वरीयतामा १८ औं स्थानमा यथावत् रहेको छ । बलिङमा सन्दीपले उत्कृष्ट पुनरागमन गरेका छन् । हालै स्कटल्याण्डमा सम्पन्न त्रिकोणात्मक सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनको नतिजास्वरूप सन्दीप लामिछानेले बलिङ वरीयतामा एकैपटक ४१ स्थानको विशाल छलाङ मारेका छन्। यसअघि शीर्ष १०० बाट बाहिर रहेका सन्दीप अब ७५औं स्थानमा आइपुगेका हुन्। बलिङतर्फ नै अर्का स्पिनर ललित राजवंशीले पनि उत्कृष्ट प्रदर्शन गर्दै २९ स्थान सुधार गरेका छन्। उनी अब वरीयताको ५४औं स्थानमा उक्लिएर नेपालको शीर्ष बलर बनेका छन्। दीपेन्द्रसिंह ऐरी पनि बलिङतर्फ ८०औं स्थानमा रहेका छन्। ब्याटिङ वरीयतामा नेपालले मिश्रित नतिजा पाएको छ। ओपनर कुशल भुर्तेलले १० स्थान सुधार गर्दै ८३औं स्थानमा पुग्न सफल भएका छन्। यता, कप्तान रोहितकुमार पौडेल र विकेटकिपर ब्याट्सम्यान आसिफ शेखको वरीयतामा भने सामान्य गिरावट आएको छ। दुवै खेलाडी दुई दुई स्थान तल झर्दै क्रमशः ६६औं र ७७औं स्थानमा पुगेका छन। अलराउण्डर दीपेन्द्रसिंह ऐरी भने ब्याटिङतर्फ ६१औं स्थानमा स्थिर छन्। अलराउण्डर वरीयतामा भने दीपेन्द्रसिंह ऐरीले आफ्नो विश्वस्तरीय प्रदर्शनलाई कायमै राख्दै तेस्रो स्थानमा कब्जा जमाएका छन्। यो नेपाली क्रिकेटका लागि एक महत्वपूर्ण उपलब्धि हो।