
एजेन्सी १० I इरान र इजरायलबीच तनाव चरम विन्दुमा पुगेको छ, दुवै देशले एकअर्काविरुद्ध रातभर भीषण क्षेप्यास्त्र आक्रमण गरेका छन् । इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई समेत निशाना बनाएपछि मध्यपूर्वमा द्वन्द्वको आगो सल्किएको छ। यस घटनाक्रमसँगै संयुक्त अरब इमिरेट्स यूएई, कुवेत र इराकले आफ्नो हवाइ क्षेत्र बन्द गरेका छन् भने बहराइनमा साइरन बजाइएको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोरले कतारस्थित अमेरिकी सैन्य बेस अल उदैद र इराकमा रहेका सैन्य अखडाहरूमाथि क्षेप्यास्त्र आक्रमण गरेको औपचारिक रूपमा पुष्टि गरेको छ। इरानी समाचार संस्था तस्नीमका अनुसार, यो कारबाहीलाई ‘विजयको घोषणा’ नाम दिइएको छ। इरानले यो आक्रमण अमेरिकाद्वारा आफ्नो आणविक केन्द्रमाथि भएको आक्रमणको जवाफ भएको दाबी गरेको छ। यद्यपि, अमेरिकी र कतारी रक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरूलाई हावामै नष्ट गरिदिएको जनाएका छन्। कतारको रक्षा मन्त्रालयले आक्रमणबाट कुनै मानवीय क्षति नभएको स्पष्ट पारेको छ।
कतारको राजधानी दोहाबाट करिब ६० किलोमिटर टाढा रहेको अल उदैद मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा हो।
इजरायल र इरानबीच रातभर आक्रमणको शृङ्खला
सोमबार राति इजरायलले इरानको राजधानी तेहरानमा भारी आक्रमण गरेको थियो। आक्रमणअघि इजरायलले सहरका विभिन्न क्षेत्र खाली गर्न तीन पटक चेतावनी जारी गरेको थियो। इरानमा इन्टरनेट सेवा अवरुद्ध भएकाले स्थानीयहरूले समयमै जानकारी पाउन कठिनाइ भोगेको बताइएको छ।
त्यसको जवाफमा इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायली रक्षा बलका अनुसार, देशका विभिन्न भागमा साइरन बजेका थिए र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो।
यो तनावपूर्ण अवस्थाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच “पूर्ण र सम्पूर्ण” युद्धविराममा सहमति भएको घोषणा गर्नु भएको थियो । तर, उनको घोषणाविपरीत दुवै पक्षबाट रातभर आक्रमण जारी रह्यो। यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यदि इजरायलले स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आफ्नो आक्रमण रोकेमा इरानले पनि जवाफी कारबाही रोक्ने शर्त राख्नु भएको थियो । उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्नु भएको थियो, युद्धको सुरुवात इजरायलले गरेको हो, इरानले होइन। यदि इजरायली शासनले आक्रमण रोकेमा हामी जवाफी कारबाही जारी राख्ने मनसाय राख्दैनौँ।ू यद्यपि, यो प्रस्तावका बाबजुद पनि आक्रमण रोकिएन र तनाव थप चुलियो।

आक्रमणपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले सामाजिक सञ्जाल ‘एक्स’मा जलिरहेको अमेरिकी झण्डासहितको तस्बिर पोस्ट गर्दै कडा सन्देश दिनु भएको छ । उहाँले लेख्नु भएको छ,, “हामीले कसैलाई हानि पुऱ्याएका छैनौँ, तर हामी अतिक्रमण सहने छैनौँ। इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन।”
उता, ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र अन्य वरिष्ठ अधिकारीहरूले ‘सिचुएसन रूम’मा बसेर अवस्थाको समीक्षा गरिरहेका छन्। यूएई, कुवेत र इराकले आफ्नो हवाइ क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्, जसकारण दर्जनौँ उडानहरू प्रभावित भएका छन्। अस्थायी रूपमा बन्द गरिएको आफ्नो हवाइ क्षेत्र पुनः सञ्चालनमा ल्याएको छ। इरानको आक्रमणको निन्दा गर्दै कतारप्रति ऐक्यबद्धता जनाएको छ। बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय रहेकाले त्यहाँ पनि साइरन बजाइएको छ र नागरिकहरूलाई सुरक्षित रहन भनिएको छ।