हाम्रो पेज
नवलपुर, ६ अषाढ I मनसुनको सक्रियतासँगै भएको अविरल वर्षाले देशका विभिन्न भागमा वितण्डा मच्चाएको छ। नवलपुरको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा ३८ जना यात्रुको ज्यान जोखिममा परेको थियो, तर सुरक्षाकर्मीको अथक प्रयासपछि उनीहरूको सकुशल उद्धार गरिएको छ।
यता, काभ्रेमा खोलामा फसेका ५ जनालाई पनि उद्धार गरिएको छ भने कास्कीमा पहिरोले ठूलो भौतिक क्षति पुऱ्याएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल खण्डको विनयी खोलामा बिहीवार राति एउटा कहालीलाग्दो घटना घट्यो। काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई राति करिब साढे ११ बजे डाइभर्सन तर्ने क्रममा एक्कासी आएको बाढीले बगायो। बसमा तीन शिशुसहित ३८ जना यात्रु थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले एक्साभेटरको सहायताले राति २ बजेसम्ममा सबै यात्रुको सकुशल उद्धार गरेको छ। यात्रुहरूलाई उद्धार गरेपछि खाली बसलाई भने बाढीले करिब साढे पाँच सय मिटर तलसम्म बगाएको छ। दाउन्नेमा सडक हिलाम्य भएकाले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग कालीगण्डकी करिडोर प्रयोग गर्न आग्रह गरेको छ। गत पुसमा ओभरलोड भएको भारतीय ट्रकका कारण पक्की पुल भाँचिएपछि बनाइएको डाइभर्सन नै बाढीले बगाउँदा यो दुर्घटना भएको हो।
काभ्रे र कास्कीमा पनि बाढीको प्रभाव
काभ्रेको नमोबुद्ध नगरपालिकास्थित रोशी खोलामा ढुंगा गिट्टी निकाल्न गएका ५ जना बाढीमा फसेका थिए। जिल्ला प्रशासन कार्यालयको चेतावनीलाई बेवास्ता गर्दै राति खोलामा जाँदा फसेका उनीहरूलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले मध्यरातमा सकुशल उद्धार गरेको छ। उनीहरूका टिपर र लोडर पनि सुरक्षित छन्। कास्कीको मादी गाउँपालिकाको खिलाङ र तप्राङमा पहिरोले ठूलो क्षति पुऱ्याएको छ। सडक निर्माणका क्रममा खनिएको ठाउँबाट पहिरो खस्दा बुमप्रसाद गुरुङको गोठ पुरिँदा एक लैनो भैंसी र पाडो मरेका छन्। यसअघि पहिरो नगएको बस्तीमै पहिरो जाँदा वीरबहादुर रानाका दुई र गौबहादुर रानाको एक घरसहित गोठ पुरिएर बस्नै नमिल्ने भएका छन्। गाउँपालिकाले जोखिमपूर्ण क्षेत्रमा नबस्न र उच्च सतर्कता अपनाउन स्थानीयलाई सचेत गराएको छ।