बीबीएलमा कुनै नेपाली खेलाडी बिकेनन् ,यू–१६ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा विपिन शर्मा

हाम्रो पेज

५ असार २०८२, बिहीबार १८:३६
विराटनगर, ५ अषाढ I अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बाश लिग’ (बीबीएल) को विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ जना खेलाडी टिममा आबद्ध हुन असफल भएका छन् । नेपालबाट सन्दीप लामिछाने, देव खनाल, आरिफ शेख, अर्जुन साउद, विपिन शर्मा र शेर मल्ल ड्राफ्टमा रहेका थिए । तर आज भएको १५औं संस्करणको बीबीएल ड्राफ्टमा नेपालका खेलाडी कुनै पनि टोलीमा अनुबन्ध हुन सकेनन् ।

आज भएको ड्राफ्टबाट ८ वटा टोलीले १५ जना खेलाडी अनुबन्ध गरेका छन् । सन्दीपले यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट बीबीएल खेलिसकेका छन् । सन्दीप र ललित राजवंशी गएको संस्करणको बीबीएल ड्राफ्टमा सहभागी भए पनि उनीहरूलाई कुनै पनि टोलीले आबद्ध गरेनन् । बीबीएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर गरी ८ वटा टोली छन् ।

एसीसी इस्ट जोन कपका लागि यू–१६ राष्ट्रिय क्रिकेट टोली घोषणा
यता आगामी जुन २० देखि जुलाई ६ सम्म मलेसियामा हुन गइरहेको एसीसी इस्ट जोन कप २०२५ का लागि यू–१६ राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । विपिन शर्माको कप्तानीमा बिहीबार १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

टोलीको उपकप्तानको जिम्मेवारी सुर्यान्शु कोइरालालाई दिइएको छ । यस्तै परिमर्जन यादव, शिवांश बजगाईं, रौनक श्रीवास्तव, सचिन भट्ट, सुयोग भट्टराई, सुभम खनाल, जोय थापा र अभय यादव पनि टोलीमा छन् । यसैगरी सुगम बुढाथोकी, सुशीलबहादुर रावल, प्रसिद्ध जैसी र रोशन शाहीसमेत टोलीमा अटाएका छन् । कप्तान विपिन अष्ट्रेलियाको प्रतिष्ठित टी–२० फ्रेन्चाइज क्रिकेट लिग बिग ब्यास (बीबीएल)को ड्राफ्टमा परेका नेपालका ६ खेलाडीमध्ये एक हुन् । विपिनले गत संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपछि उनी नेपालको यू–१९ टोलीमा समावेश भए । गत अप्रिलमा घरेलु मैदानमा भएको अफगानिस्तानविरुद्धको श्रृंखालामा विपिनले चार विकेट लिएका थिए ।
आगामी जुन २० देखि जुलाई ६ सम्म मलेसियामा आयोजना हुन गइरहेको एसीसी इस्ट जोन कप २०२५ मा नेपालसहित भुटान, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर, मलेसिया, थाइल्याण्ड, हङकङ र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुने छ । नेपाल रहेको समूह ए मा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । नेपालले जुन २२ मा आफ्नो खेलमा सिंगापुरको समाना गर्नेछ । यो प्रतियोगिताले एसिया क्रिकेट परिषद्का पूर्वी क्षेत्रका देशहरूलाई प्रतिस्पर्धा गर्ने अवसर दिन्छ। नेपालले यस प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने अपेक्षा गरिएको छ। प्रत्येक खेल मलेसियाको स्थानीय समय अनुसार निर्धारित हुनेछ।