हाम्रो पेज
विराटनगर, ४ अषाढ I जिल्ला प्रशासन कार्यालय, मोरङले २०८२ सालको जेठ महिनामा ३,९०० भन्दा बढी नागरिकलाई नागरिकता र राहदानी सेवा प्रदान गरेको छ। कार्यालयले सार्वजनिक गरेको मासिक कार्य प्रगति विवरणअनुसार, सेवा प्रवाहमा उल्लेख्य वृद्धि देखिएको हो।
जेठ महिनामा मात्रै कार्यालयबाट १,८२५ जनाले वंशजको आधारमा नयाँ नागरिकता प्राप्त गरेका छन्। यसैगरी, ६९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् भने ९० जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। सोही अवधिमा १,२५३ जनाले नागरिकताको प्रतिलिपि बनाएको तथ्याङ्कमा उल्लेख छ। नागरिकतासँगै राहदानी बनाउनेको संख्या पनि उच्च रहेको छ। जेठ महिनामा १,३०४ जनाले राहदानीका लागि आवेदन दिएका छन् भने कार्यालयले १,२७९ वटा राहदानी वितरण गरेको छ। राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या पनि उल्लेख्य छ। कार्यालयले ५,७९५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन गरेको छ भने २,३३४ वटा परिचयपत्र वितरण गरेको छ। यसका साथै, कार्यालयले जेठ महिनामा विभिन्न सेवा शुल्कबाट ८२ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यसमा राहदानी शुल्कबाट ८२ लाख ५० हजार र अन्य प्रशासनिक तथा हातहतियार इजाजत दस्तुरबाट २१ हजार रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिनुभयो। कार्यालयले जेठ महिनामा ६६ वटा नाबालक परिचयपत्र, ९४ वटा दलितरजनजाति पारिवारिक विवरण प्रमाणित, र ४९ वटा संस्था दर्ता तथा नवीकरण जस्ता सेवाहरू पनि प्रदान गरेको छ।
