काठमाडौं, १ अषाढ I इरान र इजरायलबीच चर्किएको भीषण सैन्य द्वन्द्वका बीच नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका करिब ५,५०० र इरानमा रहेका १२ जना नेपाली हालसम्म सुरक्षित रहेको जनाएको छ। साथै, इजरायलस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले र एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली दूतावासहरूमा टेलिफोन सम्पर्क गरी सम्बन्धित मुलुकहरूमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र आवश्यक परे तत्काल कदम चाल्न निर्देशन दिनुभएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारले द्वन्द्वलाई नजिकबाट नियालिरहेको छ र नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिनेछ।”
उता इजरायल र इरानबीचको तनाव उत्कर्षमा पुगेपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूका लागि एक जरुरी सूचना जारी गरेको छ । द्वन्द्वका कारण जोखिम बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ। इजरायल सरकारको ‘होम फ्रन्ट कमान्ड’द्वारा जारी गरिएका सुरक्षा निर्देशनहरू, जस्तैः शैक्षिक संस्था बन्द रहने र सभा भेला नगर्नेजस्ता नियमहरूको पूर्ण पालना गर्न ध्यानाकर्षण गराइएको छ। नेपालीहरूको सुरक्षा र हितका लागि दूतावासले २४सै घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
आवश्यक परेमा
कुमारबहादुर श्रेष्ठ द्वितीय सचिव ९७२ ५३ ५३६ ०७४८ र सञ्जय कुमार शाह तृतीय सचिव ९७२ ५४ ५५८ २०७७ को नम्बरमा सम्पर्क गर्न भनिएको छ ।
मध्यपूर्वको यो तनावको असर नेपालको संसद्मा पनि उठेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा बैठकमा इरान र इजरायलमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
