
काठमाडौं, ३० जेठ I लामो समयदेखिको संसद्को गतिरोध अन्त्यकालागि सत्ता र प्रमुख प्रतिपक्षीबीच भएको समझदारीपछि आजको प्रतिनिधिसभा बैठक तनावपूर्ण र नाटकीय बन्यो। रास्वपा र राप्रपाको निरन्तर अवरोध र नाराबाजीका बीच सभामुख देवराज घिमिरेले ‘पेलेरै बैठक अघि बढाएपछि गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुभएको छ । त्यसलगत्तै, बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र सत्तापक्षसँग दुई बुँदे सहमति गर्दै आफ्नो अडानबाट पछि हटेको छ। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वासमा सदन खोल्न तयार भएको बताउनुभयो। तर, माओवादीको यो कदमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले “वीरतापूर्वक गरिएको आत्मसमर्पण” को संज्ञा दिनुभयो। उहाँले यो सहमति गणतन्त्र नभई लुटतन्त्रको रक्षाका लागि भएको टिप्पणी गर्नुभयो I
यस्तै, रास्वपा सांसद मनिष झाले छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने बताउनुभयो। उहाँले प्रश्न गन्नुभयो ,अख्तियारले ९ पटक पत्र काट्दा सरकार के हेरेर बस्यो ? कर्मचारीलाई जोगाउन रातारात सरुवा किन गरियो ?
नाराबाजीबीच गृहमन्त्रीको गर्जन
रास्वपा र राप्रपाका सांसदहरूको नाराबाजी र वेल घेराउकै बीच गृहमन्त्री रमेश लेखकले उच्च स्वरमा आफ्नो बचाउ गर्नुभयो । उहाँले आफूविरुद्ध नियोजित आक्रमण भएको भन्दै खेद प्रकट गर्नुभयो । लेखकले भन्नुभयो, “मैले नै श्रम ऐनको मस्यौदा कोरेको हुँ, चार देशसँग श्रम सम्झौता गरेको हुँ, अनि मलाई नै मानवतस्कर भनियो ? ” उहाँले संवैधानिक निकायले गरिरहेको छानबिनमा सरकारलाई जोड्न नहुने तर्क गर्नुभयो।
दिनभरको रस्साकस्सी र पटक पटकको स्थगनपछि बसेको बैठकले गतिरोधको गाँठो त फुकायो, तर राजनीतिक दलहरूबीचको अविश्वास र दूरीलाई झनै बढाएको छ । सभामुखले बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।