इरानमाथि इजरायलको भीषण हमला, सैन्य कमान्डर र शीर्ष आणविक वैज्ञानिक मारिए

हाम्रो पेज

३० जेष्ठ २०८२, शुक्रबार १२:४६
एजेन्सी, ३० जेठ I मध्यपूर्वलाई एक रक्तपातपूर्ण र अनिश्चित भविष्यतर्फ धकेल्दै इजरायलले आज बिहानै इरानमाथि भीषण सैन्य आक्रमण गरेको छ।

इजरायली लडाकु विमानहरूले इरानका सैन्य अड्डा र आणविक कार्यक्रमका मुटु मानिने केन्द्रहरूलाई लक्षित गरी गरेको यस हमलामा इरानको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख कमान्डर हुसेन सलामी र दुई शीर्ष आणविक वैज्ञानिकसहित दर्जनौं वरिष्ठ अधिकारी मारिएका छन् । यस आक्रमणले दुई देशबीचको दशकौं लामो छायाँ युद्धलाई अब खुला र विनाशकारी द्वन्द्वमा परिणत गरिदिएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले आक्रमणको पुष्टि गर्दै इजरायली वायुसेनाले सफलतापूर्वक इरानभित्रका लक्ष्यहरू ध्वस्त पारेको बताएका छन्। न्युयोर्क टाइम्सका अनुसार, इजरायली सेनाले राजधानी तेहरान वरपरका कम्तिमा ६ वटा सैन्य अड्डामाथि आक्रमण गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो हमलालाई “इरानको आणविक कार्यक्रमको मुटुमा गरिएको प्रहार” को संज्ञा दिँदै आवश्यक परुन्जेल आक्रमण जारी रहने चेतावनी दिनु भएको छ । इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सैन्य अधिकारी र केही वरिष्ठ आणविक वैज्ञानिक पनि आक्रमणमा मारिएको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमले इजरायली आक्रमणमा सर्वोच्च कमान्डर हुसेन सलामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेदुन अब्बासी मारिएको पुष्टि गरेको छ। अल जजीराका अनुसार, अर्का प्रमुख आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची को पनि मृत्यु भएको छ। आक्रमणपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायललाई “तीतो र पीडादायी भाग्य” भोग्न तयार रहन चेतावनी दिनु भएको छ । खामेनीले एक विज्ञप्ति जारी गर्दै भन्नु भएको छ , “आज बिहान यहुदी शासनले हाम्रो प्रिय देशमा अपराध गर्न आफ्नो फोहोर र रक्ताम्य हात खोल्यो। यसले आफ्नो दुष्ट प्रकृति पहिलेभन्दा बढी प्रकट गरेको छ। यहुदी शासनले कडा सजायको भागीदार बन्नुपर्नेछ।” उहाँले कमान्डर र वैज्ञानिकहरू ‘शहीद’ भएको भन्दै उनीहरूको स्थान सक्षम उत्तराधिकारीले तुरुन्त लिने बताउनु भएको छ ।
अमेरिकाले इजरायलले गरेको यस आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज राति इजरायलले इरानविरुद्ध एकतर्फी कारबाही गरेको हो। हामी आक्रमणमा संलग्न छैनौं र हाम्रो सर्वोच्च प्राथमिकता यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सुरक्षा गर्नु हो।” विज्ञप्तिमा अगाडि भनिएको छ, “इजरायलले हामीलाई यो कारबाही उनीहरूको आत्मरक्षाका लागि आवश्यक थियो भनेर जानकारी गराएको छ। हामी यो स्पष्ट पार्न चाहन्छौं कि इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्ष्य बनाउनु हुँदैन।” अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इजरायलले बहुआयामिक र योजनाबद्ध आक्रमण गरेको देखिन्छ।

आक्रमणका मुख्य लक्ष्यहरू निम्न स्थानमा थिएः
नातान्जः इरानको मुख्य युरेनियम संवर्धन केन्द्र।
इस्फहान र अरकः आणविक प्रशोधन केन्द्रहरू।
तेहरानः राजधानी र वरपरका सैन्य स्थलहरू।
तब्रिजः आणविक अनुसन्धान केन्द्र र सैन्य अड्डा नजिक विस्फोट।
केरमानशाहः पश्चिमी इरानमा रहेको महत्त्वपूर्ण सैन्य क्षेत्र।
इरानी सञ्चारमाध्यमका अनुसार कम्तिमा दुई चरणमा आक्रमण भइसकेको छ र तेस्रो चरणको आक्रमण हुन सक्ने अपुष्ट खबरहरू आइरहेका छन्।