NOTIFICATIONS
हाम्रो पेज
झापा, २८ जेठ I झापा जिल्लाका तीन फरक फरक स्थानमा आज बुधबार बिहान तीन जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाले घटनाहरूको पुष्टि गर्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ। एक जनाको पहिचान खुल्न सकेको छैन भने अन्य दुईको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, पहिलो शव अर्जुनधारा नगरपालिका–४ को मदनपुर जलाधर सडक किनारमा फेला परेको हो। मृतक पुरुषको पहिचान खुल्न सकेको छैन र प्रहरीले उनको सनाखतका लागि प्रयास गरिरहेको छ। यसैगरी, बिर्तामोड नगरपालिका–२, फूलबारी टोलमा ३६ वर्षीय राम टुडू मृत अवस्थामा फेला परेका छन्। त्यस्तै, तेस्रो घटना अर्जुनधारा–११, नयाँबस्तीमा भएको हो, जहाँ ६० वर्षीय मित्रलाल कामी मृत भेटिएका थिए। प्रवक्ता खड्काले तीनवटै घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार, तीनवटै शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।