हाम्रो पेज
सप्तरी, २५ जेठ I विपतबाट हुनसक्ने जोखिम कम गर्न स्थानीय स्तरमै विपत स्वयंसेवक उत्पादन गर्ने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकामा १८ दिने स्वयंसेवक तालिम सुरु भएको छ I
तालिमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले सशस्त्र प्रहरीले सुरु गरेको यस अभियानको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विपदको पूर्वानुमान गर्न सकिने अवस्था नरहेको हुँदा स्थानीय स्तरमै स्वयंसेवक उत्पादन गरी सदैव तयारी अवस्थामा रहनुपर्ने औल्याउनुभयो ।
तालिमको महत्वबारे प्रकाश पार्दै दन्तकाली विशेष तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. नेत्रबहादुर कार्कीले नेपालको भौगोलिक बनावटअनुसार कतिपय ठाउँ उच्च जोखिममा रहेको बताउंदै त्यस्ता ठाउँका लागि यस्तो तालिम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो I उहाँले भौगोलिक विकटताका कारण तत्कालै सुरक्षाकर्मी पुग्न नसक्ने अवस्थामा सुरक्षाकर्मी उद्धार कार्यमा पुग्नु अगावै स्थानीय स्तरमै तालिम प्राप्त स्वयंसेवक भए सम्भावित जनधनको ठूलो क्षतिलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो।
तालिम उद्घाटन कार्यक्रममा महादेवा गाउँपालिका उपाध्यक्ष, जिल्लास्थित विभिन्न सुरक्षा निकायहरुका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत, महादेवा गाउँपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो।