search logo
NOTIFICATIONS

झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को संक्रमण, ८० वटा बङ्गुर मरे

हाम्रो पेज

२५ जेष्ठ २०८२, आईतवार १३:२५

झापा, २५ जेठ I झापाको मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुशार मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको छ । गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ ।

यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले जानकारी दिनु भएको छ । फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर भकाभक मर्दा ठूलो क्षति भएको बताउनु भएको छ । अफ्रिकन स्वाइन फ्लू र लम्पी स्किन दुवै पशुमा देखिने अत्यन्त सङ्क्रामक भाइरल रोग हुन्, जसले नेपाल लगायत विश्वका धेरै देशमा पशुपालन व्यवसायमा ठूलो क्षति पुर्याएका छन्।

अफ्रिकन स्वाइन फ्लू सुँगुर, बुङ्गुर र बँदेल प्रजातिमा देखिने उच्च सङ्क्रामक भाइरल रोग हो । यो रोग मानिसमा सर्दैन, तर सुँगुरमा मृत्यु दर अत्यन्तै उच्च (कहिलेकाहिं १००% सम्म) हुन्छ। यसमा १०४–१०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउँछ, कान, पुच्छर, पेटको छालामा रातो-निलो धब्बा देखिने, खाना नखाने, थकान, लड्खडाउने र छिटो मृत्यु हुने गर्दछ । सङ्क्रमित सुँगुर-बुङ्गुरसँग प्रत्यक्ष सम्पर्क गर्दा तिनको मासु, रगत, मल, ओसारपसारमा प्रयोग भएका वस्तु र संक्रमित फर्मबाट अर्को फर्ममा यो सर्ने गर्दछ । यस्तै लम्पी स्किन रोग गाई, भैँसीमा देखिने पक्स भाइरसद्वारा सर्ने अत्यन्त सङ्क्रामक रोग हो । यो पनि मानिसमा सर्दैन । यसका लक्षणहरुमा छालामा एकदेखि पाँच सेन्टिमिटरका गाँठा-साह्रा, ज्वरो, तौल घट्ने, दूध उत्पादनमा गिरावट , मुख, नाक, थुतुनोमा घाउ, आँखा–नाकबाट तरल पदार्थ निस्कने र कहिलेकाहीँ मृत्यु हुने गर्दछ । यो लामखुट्टे, टोक्ने झिँगा, किर्ना जस्ता कीराको टोकाइबाट, संक्रमित पशुको ओसारपसार, साझा खानेपानी, एउटै सुईको प्रयोगबाट सर्ने गर्दछ।