हाम्रो पेज
काठमाडौं, २३ जेठ I वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथी गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ती जनाएको छ ।
नेपाल प्रेस डट कमका फोटो पत्रकार कार्कीलाई हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुर्व्यवहार गरेका थिए । सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ती जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथी ठाडो प्रहार गरेको उल्लेख छ । विज्ञप्तीमा दोषीलाई कानुनी कारवाही गर्न समेत माग गरिएको छ ।
श्रमजीवी पत्रकार माथी भएको यस हर्कतको विरुद्ध शसक्त आवाज उठाउन चौतारीले नागरिक समाज, पेशागत संघसंगठनलाई आह्वान गरेको छ । यसैगरी पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभुति दिन समेत विज्ञप्तीमा माग गरिएको छ ।